मधेशमा फेरि पनि एमाले-कांग्रेस बाहेकको सरकार बन्छ, हामी प्रयासरत छौंः मनीष सुमन (भिडिओसहित)


काठमाडौं, २३ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले मधेशमा फेरि पनि कांग्रेस–एमाले बाहेकको सरकार बन्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मधेश प्रदेश सरकार बनाउनका लागि न्यूनतम ५४ सिट आवश्यक पर्नेमा अहिले कांग्रेस–एमालेसँग ४५ सिटमात्रै रहेको र अन्य सांसदहरु सबै वैकल्पिक सरकारको पक्षमा रहेको बताएका हुन् ।

‘कांग्रेस–एमाले मिल्दा सदस्य संख्या ४५ पुग्छ । त्यो बाहेकका सबै सांसदहरु कांग्रेस र एमालेको सरकार बन्न हुँदैन, वैकल्पिक सरकार बन्नुपर्छ भन्ने उद्देश्यकका साथ हामीसँग हुनुहुन्छ,’– उनले भने ।

मधेशमा अहिले वैकल्पिक सरकारको पक्षमा जनता समाजवादी पार्टी नेपालको निलम्बित १ जना सहित १९ जना, जनमत पार्टीको ११ जना, नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र र एकीकृत समाजवादी) का १६ जना, लोसपा ८ जना, नागरिक उन्मुक्ति पार्टी, संघीय समाजवादी पार्टी नेपालका १÷१ जना सांसद रहेको नेता सुमनले बताए ।

उनले आफूहरु कांग्रेस–एमाले बाहेकको सरकारमा जाने बताए । नेपाली कम्युनिष्ट पार्टीभित्रको समस्या भने सोही पार्टीले सम्बोधन गर्ने उनले बताए । आफूहरु वैकल्पिक सरकार गठनका लागि पूर्ण प्रयास गर्ने उनले बताए । मधेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेशसभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि हिजो राजीनामा दिएका थिए ।