युनिटी लाइफ इन्टरनेशनलको मुद्दामा सर्वोच्चले गरेको फैसला पुनरावलोकनको माग


काठमाडौं, २३ कात्तिक । सर्वोच्च अदालतले युनिटी लाइफ इन्टरनेशनलबाटको मुद्दामा गरेको फैसला पुनरावलोकनको माग गरिएको छ । युनिटी लाइफ इन्टरनेशनलबाट ठगिएका लगानीकर्ताहरुले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सर्वोच्चको फैसलाले पीडितलाई झन पीडा दिएको उक्त मुद्दा पुनरावलोकनमार्फत हेरिनुपर्ने बताएका हुन् ।

पीडित विष्णुप्रसाद काफ्लेका अनुुसार युनिटी लाइफ इन्टरनेशनलविरुद्ध पीडितहरुले १६ वर्ष पहिला मुद्दा हालेका थिए । आफूहरुलाई राज्यले १६ वर्षसम्म कुराएर पनि न्याय दिन नसकेको उनको भनाइ छ । सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सो मुद्दाको फैसला गरेको थियो ।

काफ्लेका अनुसार युनिटीमा ६ लाख मानिसहरुको लगानी डुबेका छ । ‘६ लाख मानिसहरुको लगानी फिर्ताको सुनिश्चितता नभएको कारणले उक्त मुद्दा पुनरावलोकनमार्फत हेरिनुपर्छ,’– उनले भने । युनिटी लाइफकै कारण २५ जना मान्छेले आत्महत्या गरेको समेत उनले बताए ।