प्रदेश प्रमुखले पानस होटलमा प्रदेशको अस्मिता समाप्त पार्ने खेल गरिन् : जितेन्द्र सोनल


काठमाडौं, कार्तिक २४ । मधेश प्रदेशमा निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले मधेशका जनतामा माथि प्रदेश प्रमुखले धोका दिएको बताएका छन् ।

काठमाडौं जान भनी हिँडेकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई नियुक्त गरी बर्दिबासको एक होटलमा शपथ खुवाएको भन्दै यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘मधेश प्रदेशको जनतासँग धोका भयो । स्वास्थ्य उपचारका नाममा निस्केकी मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटलमा प्रदेशको अस्मिता समाप्त पार्ने खेल गरिन् । एक त महिला अर्को स्वास्थ्यको कुरा गरिन् ।’

उपचारका लागि काठमाडौँ जाने भन्दै सोमबार बिहान प्रमुख भण्डारीलाई सोनलले बिदाइ गरेका थिए । तर काठमाडौं जाने क्रममा बाटोमा नै यादवलाई मुख्यमन्त्री नियुक्त गरी प्रदेश प्रमुखले एक होटलमा शपथ खुवाएकी थिइन् । लगत्तै प्रदेश मन्त्रीमा नियुक्त भएका नेकपा (एमाले) का लखन दास, समाजवादी पार्टीका विमला अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका कञ्चन विच्छाले पनि शपथ ग्रहण गरेका छन् ।

आज बिहान नियुक्त भएका उनीहरुलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।