राप्रपालाई मधेस सरकारबाट तत्काल फिर्ता हुन लिङ्देनको निर्देशन


काठमाडौं, कार्तिक २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मधेश प्रदेश सरकारमा सहभागी कञ्चन विच्छालाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएका हुन् ।

मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले होटेलमा बसेर नेकपा एमालेका नेता सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त गरेपछि चर्को विरोध सुरु भएको छ। सोही क्रममा राप्रपाका अध्यक्ष लिङ्देनले मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिता नुशासनको गम्भीर उल्लंघन भएको बताएका छन् । साथै, सरकारबाट तत्काल फिर्ता नभए विधान बमोजिम कारबाही हुनेसमेत उनले चेतावनी दिएका छन् ।

‘मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो अनुशासनको गम्भीर उल्लंघन हो। राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ। अन्यथा विधान बमोजिम कारबाही हुने जानकारी गराउँछु।’

मधेस सरकारमा सहभागी नेकपा (एमाले)का लखन दास, समाजवादी पार्टीका विमला अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका कञ्चन विच्छाले आज विहान मन्त्रीको शपथ लिएका छन् ।