काठमाडौं, कार्तिक २४ । नेकपा (एमाले) का नेता महेश बर्तौलाले गत भदौ २७ गते भएको संसद विघटन र वर्तमान सरकार गठन पहिलो चरणको प्रतिगमन भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बौल्दै उनले भदौ २७ गते भएको संसद विघटन र वर्तमान सरकार गठन पहिलो चरणको प्रतिगमन भएकाले अव फागुन २१ गते दोस्रो चरणको प्रतिगमन हुने दाबी गरे ।
उनले भने, ‘अहिले मुलुक असंवैधानिक, अलोकतान्त्रिक ढङ्गले अगाडी बढिरहेको छ । गत भदौ २७ गतेको घटना प्रारम्भिक प्रतिगमन हो । संसद विघटन र सरकार गठन षडयन्त्रको प्रारम्भिक चरण हो । अव फागुन २१ गतेपछि दोस्रोे चरणको प्रतिगमन सुरु हुनेछ । जहाँ हाम्रो संविधान च्यातिने, समानुपातिक समावेशिता समाप्त पार्ने, संघियता, गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त पार्ने खेलबाट अघि बढेर मुलुकलाई बंगलादेश र म्यानम्यार बताउन खोजिएको छ ।’
नेता बर्तौलाले विगठन भएको प्रतिनिधिसभा पुनर्स्थापना गरेर मुलुकलाई निकास दिनुपर्ने विषयमा एमालेको अडान कायमै रहेको बताए । अहिलेको सरकार नै असंवैधानिक रहेको दाबी गर्दै उनले यस्तो सरकारबाट लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियाको अपेक्षा गर्न नसकिने भएकाले संसद पुनःस्थापना अपरिहार्य रहेको प्रष्ट पारे ।
वर्तमान सरकारले असंवैधानिक र अलोकतान्त्रिक ढंगले प्रतिनिधिसभा विघटन गरेकाले त्यसलाई सच्याउन संसद पुनःस्थापना अपरिहार्य भएको र त्यसका लागि पार्टी संस्थागत हिसावबाट अदालत जानेबारे निणर्य गरेर अघि बढ्ने उनको भनाई छ ।
उनले भने, ‘सबैभन्दा पहिले बैधानिक सरकार गठन गरेर फागुन २१ गते नै निर्वाचन गर्न सकिन्छ । त्यसका लागि सबैभन्दा पहिले संसद पुनर्स्थापना गरौ । पुनर्स्थापित संसदबाट सबै राजनीतिक दल र जेनजी पुस्ताको सहभागीतामा राष्ट्रिय सहमतीको सरकार बनाएर अर्ली इलेक्सनमा जान सकिन्छ ।’




प्रतिक्रिया