सिके राउतको चेतावनीः ‘संघीयता खारेज गरियो भने देश रहँदैन’ (भिडिओसहित)


काठमाडौं, २४ कात्तिक । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले संघीयतामाथि औंला ठड्याउने कोशिसमात्रै भए पनि नराम्रो हुने चेतावनी दिएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संघीयता खारेज भएका देश नै नरहने चेतावनी दिएका हुन् । उनले संघीयता कसैले दानमा दिएको सोच्न नहुने बताए ।

‘संघीयता यहाँ कसैले दानमा दिएको होइन । संघीयतामाथि अलिकता हात हालेर देखाउनुस् न अनि देशको हालत के हुन्छ ? संघीता खारेज गरियो भने यो देश रहँदैन । संघीयतामाथि अलिकति हात हालेर हेरोस् त, कसरी देश रहन्छ ?’ प्रश्न गर्दै उनले भने ।

दुई सय वर्षमा बन्न नसकेको सडक संघीयता आएपछि बनेको उनले बताए । नेता राउतले संघीयतालाई बदनाम गर्ने षड्यन्त्र सिंहदरबारबाटै भइरहेको बताए । संघीयताको विरुद्धमा हात हाल्ने कोशिस कसैले गरेको खण्डमा यो देशको हितमा नहुने उनको भनाइ छ ।