बालेनले जेन-जी भड्काएर संसद् विघटन भएको हो, अब निर्वाचनको विकल्प छैनः हिमाल शर्मा (भिडिओसहित)


काठमाडौं, २४ कात्तिक । नेपाली कम्युनिष्ट पार्टीका नेता हिमाल शर्माले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले जेन–जीहरुलाई भड्काएर संसद् विघटन गर्न लगाएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बालेनले संसद् विघटनविना एक इन्च पनि अगाडि बढ्न सकिँदैन भनेर जेन–जीहरुलाई भड्काएको बताएका हुन् । उनले अब निर्वाचनमा जानुको विकल्प नरहेको बताए । निर्वाचनमा गएर दुई तिहाइ बहुमत ल्याइ संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने उनले बताए ।

‘बालेनजीले नै जेन–जी भड्काएर संसद् विघटन नगरी एक इन्च पनि अगाडि बढ्न सकिँदैन भन्ने मान्यता राखिसकेपछि यो समस्या आएको हो । अब यसलाई झेल्नुपर्छ जेन–जीले पनि । अब फागुनको निर्वाचनमा जाने, पुरानो प्रणालीअनुसार निर्वाचन गर्ने, दुई तिहाइ प्राप्त गर्ने र संविधान संशोधन गरेर हामी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुको विकल्प छैन अब,’– उनले भने ।

उनले अन्ततः एमाले पनि निर्वाचनमा सहभागी हुनेगरी आउने बताए । नेता शर्माले तोकिएको मिति फागुन २१ गते निर्वाचनमा जानुपर्ने बताए । आगामी फागुन २१ को निर्वाचन रोक्ने तागत कुनै पनि शक्तिको नरहेको उनले बताए । मुलुकमा अराजकता बढ्दै गएको, भ्रष्टाचार मौलाएको अवस्थामा चुनावमा गएर मुलुकलाई ट्रयाकमा ल्याउनुपर्ने उनले बताए ।

एमाले–कांग्रेसलगायतका दलहरुले निर्वाचन बहिस्कार गर्दा अराजकता बढ्दै जाने, सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको कार्यकाल लम्बिने र संविधान पनि संकटमा पर्ने उनले बताए । यो सरकार जतिसुकै मन नपरे पनि एमाले फागुन २१ गतेको निर्वाचनमा सहभागी हुनुपर्ने उनले बताए ।