मधेश प्रदेश प्रमुखबारे कांग्रेस नेता शिवाकोटीको टिप्पणीः सुमित्रा भण्डारीजस्ता झोले प्रवृत्तिले राजनीति दूषित बनाइरहेका छन्, बर्खास्त गर्नुपर्छ


काठमाडौं, २४ कात्तिक । मधेश प्रदेशमा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशनमा असंवैधानिक सरकार गठन भएको आरोपसँगै त्यसले देशभर राजनीतिक हलचल पैदा गरेको छ। एमालेसँग निकट प्रदेश प्रमुख सुमित्रा भण्डारीले संविधान, संसदीय परम्परा र पदीय मर्यादाविपरीत एमाले सांसद सरोज यादवलाई झिसमिसेमा होटलमा मुख्यमन्त्री पदको शपथ गराएपछि संघीयता र लोकतन्त्रप्रति आस्था राख्ने सबै शक्तिहरू आक्रोशित भएका छन्।

भण्डारी विरामीको बहाना बनाएर आइतबार जनकपुरबाट काठमाडौंतर्फ प्रस्थान गरेकी थिईन् । तर मार्गमै, महोत्तरी–सिन्धुली सीमास्थित बर्दिबासको एक होटलमा उनले एमाले सांसद यादवलाई मुख्यमन्त्रीको शपथ गराएपछि घटनाले राजनीतिक तापमान चुलिएको हो। भण्डारी केपी ओलीको कार्यकालमा प्रदेश प्रमुख नियुक्त भएकी थिइन्।

नेपालको संविधानको धारा १६८(३)को गलत व्याख्या गरेर गरिएको यो कदम संविधान र संघीय लोकतन्त्रको मूल मर्मविपरीत भएको भन्दै मधेस प्रदेशको संसदमा रहेका सात राजनीतिक दल विरोधमा उत्रिएका छन्। आइतबार बेलुकी नै धारा १६८ (२) अनुसार सरकार गठनका लागि प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका थिए। त्यसको केही घण्टामै भण्डारीले असंवैधानिक कदम उठाउँदै एमाले सांसदलाई मुख्यमन्त्री नियुक्त गरेपछि लोकतान्त्रिक मूल्य र संघीय संरचनामाथि प्रश्न उठेको छ।

राजनीतिक विश्लेषकहरूले यसलाई ओलीको ‘संघीयता विरोधी प्रवृत्ति’ र ‘लोकतान्त्रिक आकांक्षामाथि निर्मम प्रहार’ को रूपमा वर्णन गरेका छन्। उनीहरूका अनुसार यो कदमले केवल मधेशको आत्माभिमानमाथि होइन, युवा पुस्ता विशेष गरी जेन–जी पुस्ताको लोकतान्त्रिक विश्वासमाथि पनि घात गरेको छ।

यसबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय बाबु शिवाकोटीले मधेश प्रदेशको यो घटनाक्रमलाई नेपालको राजनीतिमा फैलिँदै गएको ‘झोले प्रवृत्ति’ को चरम उदाहरण भनेका छन्। सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत उनले भनेका छन्, ‘राजनीतिमा रहेका सुमित्रा भण्डारीजस्ता झोले प्रवृत्तिले नेपालको राजनीतिलाई दूषित बनाइरहेका छन्। यस्ता प्रवृत्तिलाई राजनीति र प्रशासन दुवैबाट विस्थापित नगरिन्जेल राजनीति सफा हुन सक्दैन।’

शिवाकोटीले प्रदेश प्रमुखको तत्काल राजीनामा वा बर्खास्तीको माग गर्दै भनेका छन्, ‘संविधानको खिल्ली उडाउने र संघीयता कमजोर पार्ने यस्ता हर्कतहरूलाई सहन सकिँदैन। मधेश, संघीयता र लोकतान्त्रिक मूल्यको अपमान गरिएको छ।’

उनले मधेशका नागरिकहरू र लोकतन्त्रप्रेमी सबै शक्तिलाई असंवैधानिक कदमको विरोधमा एकजुट हुन आह्वान गरेका छन् । ‘संविधान र जनमतको रक्षा गर्न अब मौन रहनु देशघात हुनेछ। हाम्रो नारा स्पष्ट छ संघीयता जिन्दावाद, मधेश जिन्दावाद,’– उनले भनेका छन् ।