एमाले फर्किनेबित्तिकै झाँक्रीले गरिन् ओलीको प्रशंसा


काठमाडौं, २४ कात्तिक । नेकपा (एमाले) कि नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले अब पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालबाट केही पनि नहुने बताएकी छन् । आज (सोमबार) एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले अलमलमा नपरी एमालेमै फर्किन अरु नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरिन् ।

‘म जो नेतृत्वसँग विश्वासका साथ यात्रा गरेँ, उहाँहरुप्रति मलाई कुनै आलोचना गर्नु छैन, कुनै गुनासो गर्नुछैन । उहाँहरु सबै जनाप्रति सम्मान छ र शुभकामना पनि छ । तर, त्यहाँबाट केही हुँदैन । साथीहरुलाई अलमलमा त्यहाँ नरहन र मूल प्रवाहमा आउनका लागि म अनुरोध गर्न चाहन्छु,’– उनले भनिन् ।

माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत १० कम्युनिष्ट घटकबीच एकता हुँदा झाँक्री, किसान श्रेष्ठलगायतका नेताहरु बाहिर नै बसेका थिए । उनीहरु आज एमालेमा प्रवेश गरेका हुन् । नेतृ झाँक्रीले एमाले हिजोको भन्दा आज धेरै फरक भइसकेको र पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबैलाई घर फर्क भनेर छाती ओपन गरेको भन्दै उनले प्रसंशा गरिन् । नेतृ झाँक्रीले परिवतनकामी र परिवर्तनशीलहरुलाई एमालेमै फर्किन आग्रह गरिन् ।

‘नेकपा (एमाले)ं हिजो जे थियो, आज त्यो छैन र धेरै फरक छ । हर मान्छेहरुको लागि हाम्रो आदारणीय अध्यक्ष, हाम्रो अभिभावक उदारतापूर्वक सब मान्छेलाई घर फर्क भनेर छाती ओपन गरेको यो दृश्य हो । यो दृष्यमा सबै परिवर्तनकामी, सबै परिवर्तनशीलहरु यो पार्टीमा फर्किऊँ । यो हाम्रो लागि अवसर हो,’– उनले भनिन् । File Photo/RN