दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक येओलमाथि शत्रुलाई सहयोग गरेको नयाँ अभियोग


सियोल, २४ कात्तिक । दक्षिण कोरियाली अभियोजनकर्ताहरूले सोमबार पूर्व राष्ट्रपति युन सुक येओलमाथि ‘शत्रुलाई सहयोग गरेको’ नयाँ अभियोग लगाएका छन् । उनीमाथि उत्तर कोरियाको राजधानी प्योङयाङमा प्रचार पर्चा खसाल्ने उद्देश्यले ड्रोन उडानको आदेश दिएको आरोप लगाइएको हो ।

गत वर्ष उत्तर कोरियाले दक्षिण कोरियाबाट प्योङयाङमाथि प्रोपोगान्डा पर्चा खसालिएको कुरा ‘प्रमाणित’ भएको दाबी गरेको थियो । यद्यपि सियोलको सेनाले यसबारे कुनै पुष्टि गरेको थिएन । यस घटनापछि दक्षिण कोरियाली अभियोजन पक्षले विशेष अनुसन्धान सुरु गरेको थियो । यसको उद्देश्य ड्रोन पठाउने कार्य उत्तरलाई उक्साउने र त्यसपछि मार्सल ल (सैन्य शासन) घोषणा गर्ने बहानाको रूपमा प्रयोग गर्ने अवैध षड्यन्त्र त होइन भनेर पत्ता लगाए ।

राज्य अभियोजक पार्क जी–यङले सोमबार पत्रकारहरूसँग कुरा गर्दै भने, “विशेष सल्लाहकार टोलीले पूर्व राष्ट्रपति युनमाथि शत्रुलाई फाइदा पुर्‍याउने कार्यमा संलग्न भएको र आफ्नो शक्तिको दुरुपयोग गरेको अभियोग लगाएको छ ।”

पार्कका अनुसार युन र उनका नजिकका सहयोगीहरूले ‘आपतकालीन मार्सल ल घोषणा गर्न मिल्ने परिस्थितिको सिर्जना गर्ने षड्यन्त्र’ गरेको थियो । यस कदमले अन्तर–कोरियाली सशस्त्र टकरावको जोखिम बढाएर राष्ट्रिय हितमा क्षति पुर्‍याएको ठहर गरिएको छ ।

अभियोजनकर्ताहरूले ठोस प्रमाणका रूपमा गत वर्ष अक्टोबरमा युनका तत्कालीन प्रति–गुप्तचर कमान्डरद्वारा तयार पारिएको एक मेमो उद्धृत गरेका छन् । सो मेमोमा ‘राजनीतिक अस्थिरता सिर्जना गर्न वा उत्पन्न हुने अवसरलाई कब्जा गर्न’ निर्देशन दिइएको उल्लेख छ । साथै, त्यसमा सेनालाई उत्तर कोरियालाई अनुहार गुमाउने अवस्थामा पुर्‍याउने गरी ‘प्योङयाङ’ वा प्रमुख तटीय सहर ‘वोनसन’ जस्ता स्थानहरूमा लक्षित आक्रमण गर्न सुझाव दिइएको छ ।

सियोल र प्योङयाङ सन् १९५० देखि १९५३ सम्मको कोरियाली युद्धपछि शान्ति सम्झौता नभई केवल युद्धविराममा पुगेका कारण आज पनि औपचारिक रूपमा युद्धको अवस्थामै रहेका छन् ।

गत वर्ष डिसेम्बरमा युनले नागरिक शासन भङ्ग गर्ने प्रयास गरेपछि देश राजनीतिक सङ्कटमा फस्यो । उनले मार्सल ल घोषणा गर्न संसद्मा मतदान रोक्नका लागि सशस्त्र सैनिकहरू पठाउन आदेश दिएको आरोप छ । उक्त प्रयास असफल भएपछि जनवरीमा बिहानको समयमा सुरक्षाकर्मीहरूले उनलाई गिरफ्तार गरे, जसले गर्दा उनी दक्षिण कोरियाको इतिहासमा पदमा रहँदै पक्राउ परेका पहिलो राष्ट्रपति बने ।

यसपछि अप्रिलमा संसद्ले उनलाई औपचारिक रूपमा पदमुक्त गर्‍यो र जुन महिनामा सम्पन्न आमचुनावमा मतदाताहरूले विपक्षी नेता ली जे म्युङलाई नयाँ राष्ट्रपति चयन गरे ।

पूर्व राष्ट्रपति युन अहिले विद्रोह, शक्तिको दुरुपयोग र मार्सल ल घोषणा प्रयत्नसँग सम्बन्धित गम्भीर आपराधिक अभियोगहरूमा अदालतमा मुद्दा खेपिरहेको छ । अभियोजन पक्षका अनुसार यस्ता कार्यहरूले राष्ट्रिय सुरक्षालाई मात्र नभई दक्षिण कोरियाको लोकतान्त्रिक मूल्यमान्यतालाई समेत गम्भीर चुनौती दिएका छन् । रासस