काठमाडौं, २५ कात्तिक । जनमत पार्टीका महासचिव चन्दन सिंहले मधेश प्रदेशकी निवर्तमान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संघीयतामाथि दाग लगाउने काम गरेको टिप्पणी गरेका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विरामी भएको बहाना बनाएर तत्कालीन प्रदेश प्रमुख भण्डारीले होटलमा गएर विहानको ४ बजे मुख्यमन्त्री नियुक्त गर्ने काम गरेको बताएका हुन् । निवर्तमान प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ (३) को गलत प्रयोग गर्दै एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्ति गरेको भन्दै आलोचना भइरहेको छ ।
उनले संघीयता देशको जननी रहेको बताए । संघीयताकै कारण आज गाउँ–गाउँमा विकास भएको उनको दाबी छ । केही मान्छेहरुले संघीयतालाई बदनाम गराएर देशलाई संकटमा पार्न खोजिरहेको उनले बताए । नेता सिंहले भने, ‘संघीयतालाई बदनाम गराउन खोज्नेहरुले देशलाई अर्को भड्खालोमा राख्न खोजिरहेका छन् ।’
उनले एमालेका सरोज यादवलाई आधिकारिक मुख्यमन्त्री मान्न नसकिने बताए । संविधानको धारा १६८ (२) को विकल्प हुँदाहुँदै उपधारा ३ जानु नाजायज काम रहेको उनले बताए । यस्तो कार्यविरुद्ध आफूहरुले कानूनी उपचारमा खोज्ने पनि उनले बताए । सरोज यादवको मुख्यमन्त्रीको सपना सार्थक नहुने उनको भनाइ छ । एमालेकै ५० प्रतिशत सांसदहरु सरोज यादवको पक्षमा नरहेको उनले बताए ।
अबको मुख्यमन्त्री एमालेबाहेकको सर्वदलीय मुख्यमन्त्री हुने उनले बताए । एमालेलाई सत्ताबाहिर राखिने नेता सिंहले बताए ।




प्रतिक्रिया