नक्कली भुटानी शरणार्थी प्रकरणको मारमा वास्तविक शरणार्थीः जन्मदर्ता, मृत्युदर्तालगायतको सेवाबाट बञ्चित, बालबालिकाले विद्यालय जान पाएनन्


काठमाडौं, २५ कात्तिक । नक्कली भुटानी शरणार्थी प्रकरणपछि वास्तविक भुटानी शरणार्थीहरु मारमा परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणपछि वास्तविक भुटानी शरणार्थीहरु जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता जस्ता राज्यले उपलब्ध गराउने सुविधाबाट बञ्चित भएको र कार्ड नवीकरणसमेत नहुने अवस्था आएको बताइएको हो ।

हाल नेपालमा ६ हजार ५ सय भुटानी शरणार्थी रहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणपछि मोरङ र झापामा रहेका भुटानी शरणार्थीहरुले विभिन्न समस्या झेलिरहेको शिविरका सचिव करण राईले बताए ।

‘नक्कली भुटानी शरणार्थी प्रकरण आइसकेपछि राष्ट्रिय सतर्कता केन्द्रले हाम्रो जन्मदर्ता, विवाहदर्ता, मृत्य दर्ता जस्ता आधारभूत काम रोकिदिएको छ । जसको कारण हाम्रा बालबालिका विद्यालय पढ्न जानबाट बञ्चित हुनुपरेको छ । विवाह दर्ता नहुँदा पुनर्वास भएर गएका परिवारको पुनर्मिलन हुन सकिराखेको छैन,’– उनले भने ।

आफूहरुलाई शरणार्थी प्रकरणको दीगो समाधान चाहिएको र त्यसका लागि नेपाल सरकारले भुटानसँग वार्ता गरोस् भन्ने आफूहरुको अपेक्षा रहेको मोरङ शिविरका सचिव राईले बताए । ‘हामीलाई दीगो समाधानका लागि नेपाल सरकारले भुटानसँग वार्ता गर्नुपर्यो । होइन भने हाम्रो पुर्खाहरुको ठाउँ यहीँ हो, हामीलाई नागरिक बनाएर राख्नुपर्यो,’– उनले भने ।