काठमाडौं, २५ कार्तिक । नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेता नारायणकाजी श्रेष्ठले मधेश सरकारमा नियुक्त भएका मुख्यमन्त्री सरोजकुमार यादवलाई कथित मुख्यमन्त्रीको संज्ञा दिएका छन् । उनले मुख्यमन्त्री यादवलाई होटेलमा गराईएको शपथलाई लिएर प्रश्न उठाएका छन् । अहिलेपनि राजनीतिक पार्टी र नेताहरुको नचेतेको श्रेष्ठको गुनासो छ ।
जेनजी विद्रोहको प्रमुख मुद्दा राजनीति र राजनीतिक पार्टीहरुको शुद्धीकरण र रुपान्तरण नै भएको कुरालाई लत्याएर अघि बढ्न खोज्ने प्रवृत्ति देखिएकोमा पनि उनले चिन्ता व्यक्त गरेका छन् ।
उनले लेखेका छन्–‘हिजो मधेस प्रदेशमा तत्कालीन प्रदेश प्रमुख मार्फत एक होटेलमा जुन प्रकारले कथित मुख्यमन्त्रीलाई शपथ गराइयो ,यसले के स्पष्ट गर्दछ भने राजनीतिक पार्टी र नेताहरु यत्रो जेन जी विद्रोह पछि पनि चेतेका छैनन्।जेन-जी विद्रोहको एउटा प्रमुख मुद्दा राजनीति र राजनीतिक पार्टीहरुको शुद्धिकरण र रुपान्तरण हो भन्ने कुरा लाई लत्याएर अघि बढ्न खोज्ने प्रवृत्ति प्रमुख राजनीतिक पार्टी र नेताहरुमा अहिले पनि विभिन्न घटनाहरुमा देखिएका छन् ,जुन ज्यादै घातक छ । तसर्थ जेन जी आन्दोलनकारीहरू र यो विद्रोहको सकारात्मक पक्षलाई समर्थन गर्ने सबैले पुनः एकपटक राजनीतक पार्टीहरूको शुध्दीकरण तथा रुपान्तरणको मुद्दालाई सार्थक एवं परिणाममुखी बनाउन जोडदार रुपमा आवाज उठाउनु पर्ने भएको छ ।’




प्रतिक्रिया