काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भदौ २३ गतेको घटनाको कारण २४ गतेको घटना नभएको दाबी गरेका छन् । उनले भदौ २४ गतेको आगजनी, तोडफोड र हिंसाको घटनाका लागि कम्तीमा पनि १५ दिन अघिदेखिको तयारी रहेको महासचिव पोखरेलको भनाई छ ।
राष्ट्रिय युवा संघ नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भने,‘भदौ २३ र २४ को घटनाको साँच्चै छानविन गर्न खोज्यो भने यो सरकार ढल्नेवाला छ, उनीहरू आफैँ फस्नेवाला छन्, त्यसैले सरकार सो घटनाको अध्ययन नै गर्न चाहँदैन ।’ भदौ २३ र २४ को हिंसामा को संलग्न थियो भन्ने कुरा अनुसन्धान गर्न आवश्यक नै नरहेको महासचिव पोखरेलले बताए । सो घटना गराउन कसको षडयन्त्र थियो भन्ने बारेमा भने अध्ययन अनुसन्धान हुनुपर्ने उनको धारणा छ ।
उनले विदेशी शक्तिहरूले नेपालका युवा पुस्तालाई प्रयोग गरेर जेन-जी आन्दोलनको नाममा विध्वंस मच्चाएको दाबी गरेका छन् । पोखरेलले युवा पुस्तालाई पुरानो पुस्तासँग फाटो ल्याउने मनोविज्ञान बनाइ भदौ २३ र २४ को घटना गराएको बताएका हुन् । सामाजिक सञ्जाललाई लागु औषध दुव्र्यशनसँग समेत जोड्ने काम गरेर सोसियल एनार्किजम गराउने काम भएको उनको भनाई छ ।
वैधानिक शासन सत्तालाई कमजोर गराउन सुनियोजित रूपमा भदौ २३ र २४ गतेको घटना भएको उनले बताए । फागुन २१ गते सरकारले कुनै पनि हालतमा चुनाव नगराउने महासचिव पोखरेलको दाबी छ । वैधानिक सत्ता कमजोर बनाउनको लागि प्रतिनिधि सभा विघटन गरिएको बताउँदै उनले वैध सत्ता समाप्तिको लागि अहिलेको खेल भएकाले सरकारले चुनाव नगराउने उनको ठोकुवा छ ।




प्रतिक्रिया