काठमाडौं, २५ कात्तिक । नेपाल स्काउट शुद्धीकरण अभियान र नेपाल स्काउट प्रगतिशील संघर्ष समितिले स्काउटभित्र रहेको आर्थिक अनियमितता, विकृति र विसंगतिलाई समिति गठन गरेर छानविन गर्नुपर्ने माग गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा संयुक्त पत्रकार सम्मेलन गर्दै स्काउट शुद्धीकरण अभियान र संघर्ष समितिले युवा तथा खेलकुद मन्त्रालयले महालेखका प्रतिनिधि, अख्तियारका प्रतिनिधि, आन्दोलनरत संस्थाका प्रतिनिधि र स्काउटका प्रतिनिधि राखेर छानविन समिति बनाउन माग गरेको हो ।
नेपाल स्काउट शुद्धीकरण अभियानका संयोजक देवदूत अधिकारीले स्काउटभित्रका बेथिति, विकृति र भ्रष्टाचारविरुद्ध आफूहरु निरन्तर आन्दोलनरत रहेको बताए । संयोजक अधिकारीका अनुसार तत्कालीन युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको पालादेखि नै आन्दोलन जारी रहेको छ ।
साथै, नेपाल स्काउटका तत्कालीन निर्देशक रामप्रसाद भट्टराईको राजीनामा स्वीकृत भइसकेपछि पनि संस्थामा उनी हाबी रहेको संयोजक अधिकारीले बताए । संयोजक अधिकारीका अनुसार पूर्व निर्देशक भट्टराईले हालका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई पटक–पटक भेटेर आफ्नो प्रभाव र दवाब कायम राख्न खोजेका छन् । पूर्व निर्देशक भट्टराईविरुद्ध अख्यिारमा आर्थिक अनियमितताको मुद्दा विचाराधीन रहेको पनि संयोजक अधिकारीले बताए ।
नेपाल स्काउट शुद्धीकरण अभियान र नेपाल स्काउट प्रगतिशील संघर्ष समितिले स्काउटभित्रको आर्थिक अनियमितता, विकृति, विसंगतिको छानविन र दोषीमाथि कारबाहीको माग गरेको छ ।
कार्यक्रममा नेपाल स्काउट शुद्धीकरण अभियानका संयोजक अधिकारी, प्रवक्ता आशिक कार्की, नेपाल स्काउट प्रगतिशील संघर्ष समितिका सदस्य विश्व श्रेष्ठ, स्काउटका पूर्व प्रमुख आयुक्त महेन्द्रराज रञ्जित, पूर्व तदर्थ समिति सदस्य केशव महर्जनलगायतको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया