काठमाडौं, कार्तिक २६ । नेपाली कांग्रेसका नेता भरत खड्काले संसद पुनर्स्थापना गरी संविधान संशोधन मार्फत ताजा जनादेशमा जाँदा मुलुक अर्को दुर्घटनामा फस्न सक्ने चेतावनी दिएका छन्। मुलकमा राजनीतिक स्थायित्व, सुशासन, आर्थिक समृद्धि र जनतालाई सहि बाटोमा लैजान निर्वाचनको विकल्न नरहेको बताउँदै उनले संसद पुनर्स्थापनातर्फ लाग्नु भनेको अर्को दुर्घटना निम्त्याउनु रहेको बताएका छन ।
नेपाली रेडियो नेटकवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले संविधानलाई ट्र्याकमा ल्याउन निर्वाचनको विकल्प नरहेकाले कांग्रेस संसद पुनर्स्थापनातर्फ लाग्न नहुने बताए ।
उनले भने, ‘देशलाई सही ट्र्याकमा ल्याउन निर्वाचन एक मात्र विकल्प हो । जेन-जी पुस्ताको आन्दोलन कसका विरुद्ध र कुन प्रवृतिका विरुद्ध भएको हो भन्ने भिन्न परिस्थितिलाई आत्मसात गर्दै सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ । अहिलेको परिस्थिति नै फरक रहेकाले संसद पुनर्स्थापनाको मुद्दामा अगाडी बढ्दा अर्काे दुर्घटना निम्तिन सक्छ । देशलाई त्यसतर्फ लैजानुभन्दा सरकारले पनि सबै राजनीतिक दललाई सुरक्षाको प्रत्याभूति दिँदै विश्वासमा लिएर आम निर्वाचनलाई सफल बनाउनुपर्छ ।’
कांग्रेस संसापन पक्षले आम निर्वाचन भन्दा पहिले नियमित महाधिवेशनको तयारी गरेर अघि बढ्नुको विकल्न नरहेको बताउँदै उनले कांग्रेस नयाँ नेतृत्वसहित निर्वाचनमा सहभागी हुने दाबी गरे । नियमित महाधिवेशन गर्नसके वडादेखि केन्द्रसम्म सबैलाई राम्रो हुने र सबैको सहभागिता रहने जनाउँदै उनले नियमित महाधिवेशन हुन नसके वैद्यानिक व्यवस्था अनुसार अवश्य विशेष महाधिवेशन हुने र विशेष महाधिवेशनले ठूलो समस्या ल्याउने जनाए । विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशन महाधिवेशन प्रतिनिधिले हस्ताक्षर केन्द्रीय समितिमा दर्ता गरेपनि ९० प्रतिशत महाधिवेशन प्रतिनिधि आम निर्वाचन अघिको महाधिवेशनको पक्षमा रहेको उनको भनाई छ ।
नेता खड्काले कांग्रेसका लागी आगामी फागुन २१ गतेको निर्वाचन अवसर र चुनौती रहेकाले चुनौतीहरुको सामना गर्न केन्द्रीय समितिको बैठकमा अल्झिएर अवसरलाई खेर फाल्न नहुने बताए । नियमित अधिवेशनले पार्टी जीवनमा उत्साह, चाहाना र रुपान्तरण ल्याउँने र आम निर्वाचनले आम नेपाली जनतामा आशा जगाएको उनको भनाई छ । जारी केन्द्रीय समितिको बैठकले महाधिवेशनका विषयमा धेरै बहस नगरेर तत्काल नियमित महाधिवेनको कार्यतालिका सार्वजनिक गर्न समेत उनले आग्रह गरे ।
कांग्रेस भित्र विशेष महाधिवेशन कि नियमति महाधिवेशनमा सहमति नजुटेको बेलामा अचानक संसद पुनर्स्थापनाको मुद्दाले प्रवेश पाएको छ । पछिल्लो समय नेपाली कांग्रेसका सांसदहरू संसद पुनर्स्थापनाको पक्ष र विपक्षमा विभाजित हुन थालेका छन् । कांग्रेसमा २८ असोजबाट केन्द्रीय कार्यसमिति बैठक जारी छ । बैठकले नियमित वा विशेष महाधिवेशन भन्ने नै टुंगो लगाउन सकेको छैन । २१ फागुनको चुनावमा सहभागी हुने वा नहुने भन्नेमा पनि दुईथरि मत देखिएको छ । केही नेताहरूले चुनावको मिति सार्नुपर्ने तर्क पनि गरेका छन् । एकमत भएर चुनावमा जाने निर्णय गर्न नसकेको बेलामा कांग्रेसका सांसदहरू नै संसद पुनर्स्थापनाका लागि हस्ताक्षर गर्न थालेका छन् ।




प्रतिक्रिया