ओलीले भारतसँग बिगारेको सम्बन्ध सुधार गर्छौंः जनादेशका नेता खड्का


काठमाडौं, कार्तिक २६ । जनादेश पार्टी नेपालका नेता माधव सुन्दर खड्काले पार्टीले स्वतन्त्र र सन्तुलित परराष्ट्रनीतिलाई अबलम्बन गरेर अघि बढ्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले जेन-जी पुस्ताको सहभागितासहित मंगलबार निर्वाचन आयोगमा दल दर्ताको लागी निवेदन दिएको जनादेश पार्टी उदारवाद प्रजातन्त्रमा रहेर जनताले खोजको विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर छिमेकी मुलुकसँगको परराष्ट्र सम्बन्धलाई सुधार गर्दै स्वतन्त्र र सन्तुलितरुपमा अघि बढ्ने बताए ।

उनले भने, ‘जनादेश पार्टीले केपी शर्मा ओलीले भारतसँग बिगारेको परराष्ट्रनीतिलाई सुधार गर्दै अघि बढ्छ । १७८० किलोमिटर खुला सिमाना रहेको नेपाल र भारतबीचको सम्बन्ध पहिले दाजु र भाईको जस्तै थियो । दाजुभाईको सम्बन्धमा केहिलेकाँही उतारचढाव आउँनुलाई समान्य रुपमा लिदैँ जनादेश पार्टीले राजनीतिक र कूटनीतिक सम्बन्धमा सुधार गर्नुपर्ने छ । चिनसँग सुरक्षाको विषयमा कनर्सन हुँदै एक चीन नीतिसहित र पश्चिमा मुलुकसँग सन्तुलित सम्बन्ध कायम हुन्छ ।’

नेपाल–भारत असल छिमेकी रहेको र छिमेकीबिच सामान्य विषयमा मतभेद देखिनु स्वाभाविक भएकाले अब मतभेद भन्दा माथी उठेर भारतसँग बिग्रिएको सम्बन्धलाई समझदारीमा फर्काउनेबारे पार्टीको स्पष्ट पराष्ट्रनीति रहने उनको भनाई छ ।

अधिवक्ता रमणकुमार कर्णको नेतृत्वको जनादेश पार्टीमा आन्दोलनकारी जेन-जी र अनुभवी प्रोफेसनलहरूको सहभागिता रहेको र भोलीको दिनमा पार्टीको नेतृत्व जेन-जी पुस्ताले नै गर्ने उनले बताए । जेन-जी आन्दोलनकारीकै नेतृत्वमा दल निर्वाचनमा होमिने बताउँदै उनले पार्टीले केही दिनमा हामी बृहत भेलामार्फत् चुवाव चिन्ह (माईक) र झन्डा सार्वजनिक गरिने जानकारी दिए ।