नेताहरुलाई नागरिक समाजका अगुवा दीक्षितको चेतावनीः जेन-जी बिर्साउनेगरी अर्को विद्रोह आउनेवाला छ, त्यसबेला समाप्त हुनेछौं


काठमाडौं, २६ कात्तिक । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले प्रतिनिधिसभा पुनर्स्थापित हुने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गरेरै छाड्ने बताएका हुन् । उनले संसदीय व्यवस्थाले कहिल्यै पनि नेपालको उन्नति र प्रगति नहुने बताए । अब प्रत्यक्ष निर्वाचित कार्यकारीको बाटोमा जानुको विकल्प नरहेको उनको भनाइ छ ।

‘संसद् पुनर्स्थापना हुन्छ, मलाई थाहा छ । नेपालको अभिश्राप भनेको संसदीय व्यवस्था हो । यो संसद् र यही व्यवस्था जबसम्म चलाउँछौं, नेपालको उन्नति हुनै सक्दैन । हामीलाई कार्यकारीतर्फ नगइ सुख नै छैन । जबसम्म कार्यकारी प्रधानमन्त्रीले मन्त्रीहरु बाहिरबाट ल्याउन सक्दैनन्, तबसम्म नेपालको उद्दार छदै छैन । अहिलेको चुनावमा जाँदै छौं, जस्ताको तस्तै स्थितिमा ल्याउने कुरामा गइराखेका छौं । त्यसले हामीलाई कुनै फाइदा हुँदैन । संसद् ब्यूँतिन्छ, सर्वोच्च अदालतले ब्युँताइदिन्छ । यत्रो आन्दोलन गरेको नेगेटिभ फाइदाबाहेक पोजेटिभ फाइदा केही पनि भएन,’– उनले भने ।

संविधानले प्रधानमन्त्री संसद्बाट मात्रै नियुक्त हुन सक्छ भनेको अवस्थामा पूर्व प्रधानन्यायाधीश समेत रहेकी सुशीला कार्कीले नैतिकता गुमाएर प्रधानमन्त्रीको शपथ खाएको उनले टिप्पणी गरे । पुरानै व्यवस्था, पुरानै संविधान, पुरानै नेता र पुरानै पार्टीहरु निर्वाचनबाट निर्वाचित भएर आउँदा जेन–जी आन्दोलनको कुनै पनि औचित्य नरहने उनले बताए । जेन–जीको मुख्य मुद्दा प्रत्यक्ष निर्वाचित कार्यकारी र भ्रष्टाचारको अन्त्य रहेकोमा त्यो कुनै पनि पूरा नभएको उनले बताए ।

अब ब्यँतिने संसद्बाट संविधान संशोधन गरेर कार्यकारीको बाटोमा जानुको विकल्प नरहेको उनको भनाइ छ । अन्तरिम संविधान बनाएर कार्यकारीको चुनावतिर जान सकिने बाटो पनि खुला रहेको उनले बताए । होइन भने केही समयपछि जेन–जी विद्रोहभन्दा पनि अर्को ठूलो विद्रोह हुने उनले बताए । ‘केही समयपछि, एक वर्ष, दुई वर्षभित्रमा यस्तो ठूलो विद्रोह हुन्छ कि, जेन–जीको यो विद्रोहलाई बिर्साउने गरीकन आउनेवाला छ । त्यसबेलामा नेताहरुले गोदाइमात्रै होइन, समाप्त पनि हुनेखालको विद्रोह आउँछ । बुद्धि छ भने अहिले नै चेन्ज गरिहाल कार्यकारीतिर जाउँ,’– उनले भने ।