प्रसाईँलाई गृहमन्त्री अर्यालको सुझावः दल दर्ता गरेर फागुन २१ को निर्वाचनमा होमिनुस्


काठमाडौं, २६ कात्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई राजनीतिक दल दर्ता गरेर आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा होमिन सुझाव दिएका छन् । प्रसाईँ नेतृत्वको महाअभियानले आज (बुधबार) गृह मन्त्रालयमा पुगेर विभिन्न २७ बुँदे माग पेश गरेको थियो ।

प्रसाईँको मागपत्र बुझ्दै गृहमन्त्री अर्यालले ती मागहरु राजनीतिक प्रकृतिका रहेको र राजनीतिक माग पूरा गराउन पार्टी दर्ता गरेरै निर्वाचनमा जान सुझाव दिएका हुन् । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले राजनीतिक प्रकृतिका माग पूरा गर्न पार्टी दर्ता गरेर निर्वाचनमा होमिन सुझाइएको बताए ।

सो क्रममा गृहमन्त्री अर्यालले शान्ति प्रक्रिया र सुशासनका सन्दर्भमा राखिएका माग पूरा गर्न सरकार सकारात्मक रहेको पनि बताएका छन् ।

हिन्दु राज्य स्थापनाका लागि जनमत सङ्ग्रह गरिनुपर्ने, प्रदेश संरचना खारेज गरी ५ विकास क्षेत्र र १४ अञ्चलको व्यवस्था गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्नेलगायतमा माग प्रसाईँ नेतृत्वको महाअभियानले राखेको छ ।