प्रचण्ड र रावलबीच सात बुँदे सहमतिमा हस्ताक्षर (फोटोफिचर)


काठमाडौं, २६ कात्तिक । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मातृभूमि जागरण अभियानका संयोजक डा.भीम रावलबीच सात बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । रावल आज नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदैछन् । सो भन्दा अगाडि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

नेपाल र नेपाली जनताको सर्वोपरी हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै बाह्य हस्तक्षेप र दवाबबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने, समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक(सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने, आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने, महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने, सबै तहमा र मातृभूमि जागरण अभियान, नेपालअन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने सहमति भएको छ ।

साथै, नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमी जागरण अभियान, नेपालका संयोजक डा. रावलको जिम्मेवारीलगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने पनि सहमति भएको छ । त्यसैगरी पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम लगायतका दस्तावेजहरु आपसमा मिलेर तयार गर्ने, पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने । सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने, पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकताअनुसार कार्यदल गठन गर्नेबारे पनि सहमति जुटेको छ ।