निगमको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान


काठमाडौं, कार्तिक २७ । नेपाल वायु सेवा निगमले रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ। निगमले बिहीबार बिहान सूचना जारी गरी महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न लागिएको जानकारी दिएको हो।

यसका लागि इच्छुक तथा योग्य नेपाली नागरिकलाई यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिन आह्वान गरिएको छ।

सूचनामा भनिएको छ, ‘आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, पेश गर्नुपर्ने कागजातहरू, परीक्षाको छनोट विधि, पारिश्रमिक तथा सुविधा र अन्य आवश्यक विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइट www.tourism.gov.np मा उपलब्ध छ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार छनोट समिति गठन भइसकेको र प्रक्रिया मन्त्रालयको प्रत्यक्ष समन्वयमा अघि बढाइनेछ।

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको महाप्रबन्धक पद खुला प्रतिस्पर्धात्मक प्रणालीबाट चयन गर्ने निर्णय गरेकी थिइन्। पर्यटन मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेकी छन्। उक्त समितिले मन्त्रालयको प्रत्यक्ष समन्वयमा महाप्रबन्धक नियुक्ति प्रक्रिया अघि बढाइएको छ । समितिले एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी मन्त्रालयमा सिफारिस गर्ने कार्यादेश पाएको छ।

खुला प्रतिस्पर्धाबाट नयाँ महाप्रबन्धक नियुक्त नभएसम्म निगमकै वरिष्ठतम् कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धकको जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको छ। नेपाल वायु सेवा निगममा महाप्रबन्धक पद रिक्त भएको लामो समयपछि खुला प्रतिस्पर्धात्मक प्रणालीमार्फत नियुक्ति प्रक्रिया अघि बढ्न लागेको हो।