काठमाडौं, कार्तिक २७ । नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश बहादुर शाहले नेकपा (एमाले)ले सुरु गरेको घर फर्क अभियानलाई राजनीतिक प्रपञ्च र नौटंकीको संज्ञा दिएका छन् ।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले पार्टी भित्रका राष्ट्रभक्त नेतालाई पार्टीबाट निकालेर ओलीले आफ्नो गुलाम बनाउने, टाङमुनी छिराउने र गोडा मालिस गर्ने अभियान चलाएको बताए ।
उनले भने, ‘जेनजी आन्दोलनपछि केपी शर्मा ओली युगको अन्त्य भएपनि उनको अहंकार, दम्भ कम भएको छैन् । ओली नेतृत्वको सरकारले नयाँ युगको नाममा प्रतिगामी युगको सुरुवात गरेर देशमा रक्तपात मच्चाउँदै, राष्ट्रिय सम्पत्तीको बिनास र यतिका कलिला बालबाललिकाको हत्या गरेको छ । आफूमाथीको संकट समाधानका लागि जनतालाई प्रयोग गर्ने, युवालाई भिडाएर देशमा रक्तपात मच्चायर देशलाई गृहयुद्धमा लैजाने ओलीको षडयन्त्र बिफल भएको छ । उनले सुरु गरेको घर फर्क अभियान राजनीतिक प्रपञ्च हो । पार्टीका प्रभावशाली नेतालाई पार्टीबाट निकालेर ओलीले आफ्नो गुलाम बनाउने उदेश्यले टाङमुनी छिराउने र गोडा मालिस गराउने अभियान चलाएका हुन् ।’
ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलाई पार्टीबाट निकाल्न खोजेको चर्चाकाबीच उनले पार्टी भित्रका स्वाभिमान नेतालाई पार्टी किनारा लगाएर ओलीले झोले बन्न तयार नहुनेहरु, दास बन्न नमान्नेहरु, एकल निर्णय र निर्देशन नमान्नेहरु र गोडा मोल्न नमान्नेहरु, तलुवा चाट्न नमान्नेहरुलाई पार्टीबाट निकाल्ने तयारीमा रहेको दाबी गरे ।
जेनजी आन्दोलनपछि ओलीमा कुनै पश्ताचाप नदेखिएको, दम्भ, अहंकार र घमण्ड कम नभएको बताउँदै उनले ओलीकै नेतृत्वमा एमाले दुई पटक विभाजन हुनुपरेको, दुई तिहाई बहुमत भएको पार्टी विभाजन भएर पार्टी कमजोर बन्न पुगेको र एमाले कम्पनीको रुपमा रुपान्तरण भएको जनाए ।
नेता शाहले ओलीमा भएको सत्ता मोह र लालसाले उनको शरिरमा अन्तिम श्वास रहुन्जेलसम्म पनि पार्टी र देशमा निरंकुश र तानाशाही प्रवुति जारी रहने बताए । उनको निरंकुश र विधान विपरितका कामकै कारण आज नेपाली कम्युनिष्ट पार्टीमा आउँन बाध्य भएको उनको भनाई छ ।




प्रतिक्रिया