हामी कुनै दल खोल्दैनौं, पहिले जेन-जी आन्दोलनको उपलब्धि रक्षा हुनुपर्छ : सुदन गुरुङ


काठमाडौं, कार्तिक २७ । हामी नेपालीका संयोजक तथा जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले आफूहरुले कुनै दल नखोल्ने र कुनै दलसँग पनि सहकार्य नगर्ने स्पष्ट पारेका छन् । गुरुङले हिजो राति अवेरसम्म आफूनिकट टिमसँग छलफल गरेका थिए ।

छलफलपछि अहिले कुनै पनि दलमा आवद्ध नहुने निश्कर्ष निकालिएको उनको भनाई छ । भदो २३ गतेको जेनजी आन्दोलनको उपलब्धि रक्षा गर्न र आन्दोलनमाथि धोका नहोस भनेर प्रधानमन्त्री र राष्ट्रपतिबाट अनुमोदन गराउनेगरि महत्वपूर्ण निर्णय गराउने आफूहरुको तयारी रहेको उनको भनाई छ ।

यता, आज विहान उनी नेपाल स्काउटको जग्गामा बनेका विभिन्न संरचना हटाउन फिल्डमा उत्रिएको महानगरलाई सघाउन उपस्थित् भएका थिए । सो क्रममा उनले जेनजी पुस्ताले राखेका मागहरु पूरा नभइकन निर्वाचन हुन नसक्ने बताएका छन् । जेन–जीहरुका माग पूरा नभए अर्को आन्दोलन हुने चेतावनी दिँदै उनले यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने बताएका छन् । जेन–जीका हरेक वार्ताहरुमा गृहमन्त्रीको संलग्नता रहेको र आफूलाई माग पूरा हुने विश्वास गृहमन्त्रीले दिएको भएपनि अहिले त्यसअनुसार काम नभइरहेको उनको भनाइ छ ।

उनले भने, ‘समग्र हामी जेन–जी हरुको टिम एक ठाउँमा छ । एक दुई जना तलमाथि हुनुहुन्छ । उहाँहरुलाई नै बोलाउँछौँ । माग पूरा नभइकन कसरी चुनाव हुन्छ । यो सबैकुरा गृहमन्त्रीज्युले जिम्मा लिनुपर्छ । उहाँ हामीसँग जंगीअड्डामा पनि सँगै हुनुहुन्थ्यो । माग पूरा हुन्छ, हुँदैन उहाँहरुलाई थाहा थिएन र ? गिरीबन्धुमा म लडेको हो भनेर कन्भिन्स गरेको मान्छे । अहिले आएर चुनाव चुनाव भन्नुहुन्छ ।’