गोरखा, २७ कात्तिक। गोरखा जिल्ला बारपाक सुलीकोट गाउँपालिका–६, ताकुकोटस्थित माईभगवती मन्दिर परिसरमा यस वर्षको ताकुकोट न्वागी मेला–२०८२ यही कात्तिक ३० गतेदेखि सुरुहुने भएको छ ।
“कृषि, पर्यटन र संस्कृति : समृद्ध ताकुकोटको आधार” भन्ने मूल नाराका साथ दुई दिनसम्म चल्ने न्वागी मेलामा कृषि प्रवर्द्धन, स्थानीय संस्कृतिको संरक्षण र पर्यटन विकासलाई प्राथमिकता दिइने आयोजकहरूले बताएका छन्।
गोरखा–ताकुकोट सेवा समाजका अध्यक्ष अनुप श्रेष्ठका अनुसार मेलामा प्रसिद्ध हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), लोकदोहोरी गायिका अस्मिता ढल्लाकोटी, लोकगायक सागर गुरुङ, संजय गुरुङ, पवन गुरुङ, गायिका पवित्रा आले, मोडल तथा नृत्य कलाकार सुमित्रा गुरुङलगायतले प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ।
मेलामा स्थानीय कलाकारहरूले मारुनी नाच, चुट्का, झ्याउरे, पञ्चेबाजा लगायतका विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नेछन्। साथै, माईभगवती मन्दिरमा पूजाअर्चना, ब्रत बस्ने, माधी बाल्ने र न्वागी प्रसाद ग्रहण गर्ने धार्मिक कार्यक्रमहरू मेलाको मुख्य आकर्षण हुने समाजका अध्यक्ष श्रेष्ठले जानकारी दिए।
यस वर्षको न्वागी मेला श्री माईभगवती मन्दिर संरक्षण तथा सम्बर्द्धन समितिको मुख्य आयोजनामा हुँदैछ। कार्यक्रममा माईकोट नेवार गुठी, गोरखा–ताकुकोट सेवा समाज, बारपाक सुलीकोट गाउँपालिका वडा नं. ५ र ६ का कार्यालयहरू, समृद्ध ताकु युवा समाजलगायतका संघ–संस्थाहरूको सहकार्य रहनेछ।
गत वर्षझैँ यो वर्ष पनि मेलामा हजारौँ दर्शकहरूको सहभागिता हुने अपेक्षा गरिएको छ। न्वागी मेलाले स्थानीय सांस्कृतिक एकता, धार्मिक पर्यटन र आर्थिक गतिविधि प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।




प्रतिक्रिया