निर्वाचनको वातावरण बनाउन नसक्ने हो भने प्रधानमन्त्री कार्कीले पद छोड्नुपर्छः भीम रावल (भिडिओसहित)


काठमाडौं, २८ कात्तिक । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व उपप्रधानमन्त्री डा.भीम रावलले राज्यले सुरक्षाको प्रत्याभूति दिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले अब निर्वाचनमा जानुको विकल्प नरहेको बताएका हुन् ।

‘राजनीतिक दलहरुले अब निर्वाचनमा नगएर गर्ने चाहिँ के त ? कि अहिलेको सबै प्रणालीलाई फेरेर केही विन्दुमा पुग्नुपर्यो । हिजो जेन–जी भनिएका कतिपयले त्यसका लागि गरेका हौं भन्थे । आजकाल त संविधानमा केही पनि परिवर्तन गर्दैनौं भन्न लागेका छन् । केही पनि परिवर्तन नगर्ने हो भने त सुशीला कार्कीजी प्रधानमन्त्री नेपालको संविधानको कुन धाराबाट बन्नुभयो भन्ने प्रश्न उठ्छ,’– उनले भने ।

निर्वाचनको कुरामा सरकारले सुरक्षालगायतका कुरामा वातावरण बनाउनलाई इमानदारिताका साथ अगाडि आउनुपर्ने र राजनीतिक दलहरुले निर्वाचनमा गएर जनताको अभिमत लिएर आफूलाई परीक्षामा खरो उतारेर जनमत लिएर यो देशलाई फेरि अगाडि बढाउनुपर्ने उनले बताए । अब नेपाली कम्युष्टि पार्टीले सशक्त बहुमत ल्याएर देशलाई नयाँ गति र नयाँ स्थितिमा पुर्याउने उनले बताए ।

उनले निर्वाचनको वातावरण बनाउने, सुरक्षाको प्रत्याभूति गर्ने, निष्पक्ष निर्वाचन बनाउने, पारदर्शी रुपमा काम गर्ने, पार्टीहरुलाई विश्वासमा लिने काम सरकारको रहेको पनि बताए । प्रधानमन्त्री सुशीला कार्कीले म नेताहरुको मुख हेर्दिनँ भनेर आफ्नो दायित्वबाट मुक्त हुन नपाउने नेता रावलको भनाइ छ । सरकारले निर्वाचनको वातावरण नबनाउने र निर्वाचन नगर्ने हो भने सत्ता छोड्नुपर्ने स्थिति आइपर्ने उनले बताए ।