काठमाडौं, २८ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले चुनावको नाटक मञ्चन गरेको आरोप लगाएका छन् । उनले नेताहरुलाई स्थानहद गरेर चुनाव गर्छु भन्नु नाटकमात्रै हुने भन्दै जनता झुक्याउने खेल नखेल्न सरकारलाई चेतावनी दिए । उनले सुशीला कार्की नेतृत्वको सरकार अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन नसक्ने बताए ।
भदौ २३ र २४ गतेको विध्वंशबाट गठन भएको गैह्र लोकतान्त्रिक सरकारबाट लोकतन्त्रप्रतिको प्रतिवद्धता खोज्नु नहुने उनले बताए । एमाले झापाका अगुवा कार्यकर्ताहरूलाई हिजो साँझ भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले अलोकतान्त्रिक सरकारले चुनाव गराउने नाटक गर्नु आफैंमा हास्यास्पद भएको बताए ।
‘यो सरकार चुनाव गराउने भन्छ । नेताहरूलाई स्थान हद तोकेको छ । जिल्ला जान नपाउने, निर्वाचन क्षेत्र जान नपाउने, प्रचार गर्न नपाउने !?’ अध्यक्ष ओलीले सरकारप्रति आक्रोश पोख्दै प्रश्न गरे– राजनीतिक दल र नेताहरूलाई यस प्रकारको अवरोध गरेर कस्तो प्रकारको चुनाव गर्न खोजिएको हो ?’ जेनजीका नाममा एमालेमाथि भएको आक्रमण पार्टीले राष्ट्रियता, राष्ट्रहित, विकास र समृद्धिका काम गरेकोमा तिनलाई निस्तेज पार्ने प्रयास भएको उनले बताए । यस प्रकारको आक्रमण रोक्न एमाले सक्षम रहेको भनाइ अध्यक्ष ओलीले राखे ।
उनले समाजमा बढ्दै गएको अराजकतालाई रोक्न एमालेले टोलटोलमा टोल सुरक्षा समिति गठन गरिरहेको बताए । यस्ता सुरक्षा समितिले आपराधिक गतिविधिको नियन्त्रण, त्यसमा संलग्नहरूलाई प्रहरीकहाँ बुझाउने र समुदायमा सुरक्षाको प्रत्याभूति दिने काम गर्ने उनले बताए । ओलीले गैह्र संवैधानिक तरिकाबाट विघटन गरिएको प्रतिनिधि सभाको पुनस्र्थापनाका लागि व्यापक दबाब सिर्जना गर्न कार्यकर्तालाई निर्देशन दिए ।
उनले प्रतिनिधि सभाको पुनस्र्थापनामार्फत लोकतान्त्रिक पद्धतिलाई सही बाटोमा ल्याइने बताए । बैठकमा अध्यक्ष ओलीले कात्तिक २९ गतेको जागरण सभालाई झापामा भब्य रूपमा आयोजना गर्न निर्देशन दिएका छन् । उनले केन्द्रीयस्तरको जनपरिचालन कार्यक्रम सकिएपछि पनि जिल्लालाई अलग्गै आन्दोलनका कार्यक्रम बनाएर निरन्तरता दिन निर्देशन दिए ।




प्रतिक्रिया