काठमाडौं, २८ कात्तिक । नेपाली कांग्रेसका युवा नेता तथा पूर्व सांसद डा.सुनिल शर्मा आज बिराटनगरस्थित ऐतिहासिक कोइराला निवास पुगेका छन् । जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भई महत्वपूर्ण धरोहर क्षतिग्रस्त बनेको उक्त निवासको अवलोकनका लागि शर्मा कोइराला निवास पुगेका हुन् । कोइराला निवासको अवलोकनपछि उनले लोकतन्त्रको जन्म यात्रासँग प्रत्यक्ष जोडिएको यो ऐतिहासिक घरमाथिको आक्रमणलाई अत्यन्तै दुर्भाग्यपूर्ण र अमानवीय घटनाको रुपमा प्रतिक्रिया दिए ।
‘कोइराला निवास केवल एउटा घरको संरचना मात्र होइन । राणाशासनविरुद्धको विद्रोह सँगालिएको, बीपी कोइराला, गिरिजाप्रसाद कोइरालालगायतका अग्रजहरूले लोकतान्त्रिक परिवर्तिको मार्गचित्र तयार पारेको पवित्र ऐतिहासिक स्थल हो। यही घरमा अनगिन्ती गोप्य बैठकहरू बसे । यही घरबाट बहुदलीय आन्दोलनका निर्णयहरू जन्मिए र यही घरले नेपालमा लोकतन्त्र संस्थागत हुनुलाई प्रत्यक्ष देखेको छ। यस्तो धरोहरमाथिको प्रहारले इतिहासमाथि मात्र होइन । राष्ट्रको लोकतान्त्रिक आत्मामाथिसमेत आघात पुर्याएको अनुभूति स्थानीयले पनि गरेका छन्,’–उनले भने ।
जहानियाँ राणा शासनविरुद्ध विद्रोहको आवाज उठाई लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्दै जनताको सर्वमान्यता स्थापित गर्न सुरुवाती विगुल फुक्न योगदान पुर्याएको परिवारको ऐतिहासिक धरोहरलाई ‘जेन–जी आन्दोलन’को नाममा छद्मवेशीहरूको प्रहारले मटाउन खोज्नु लोकतन्त्रमाथिको आक्रमण रहेको उनको भनाइ छ ।




प्रतिक्रिया