काठमाडौं, २८ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्रहित र जनताको जीवनसँग जोड्नलाई फरकखालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण राजीनामा दिएको परियारले बताएका छन् ।
‘बदलिँदो परिस्थितिलाई आत्मसाथ गर्दै यस ऐतिहासिक घडीमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैको मिति कार्तिक २८, २०८२ देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधरण सदस्यसम्म नरहने निवेदन गर्दछु,’– उनले भनेका छन् ।
नेता परियारले नेपाली समाजको विशिष्ट बनावट र चरित्रअनुसारको रास्वपाको विचार निर्माण गर्न नसकिएकोप्रति आफू दुःखी रहेको पनि उनले बताएका छन् । गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको र आन्दोलनले यथाअवस्थामा अब नेपाली राजनीति अगाडि जान नसक्ने र नवयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको उनले उल्लेख गरेका छन् ।




प्रतिक्रिया