संसद् विघटन गैरसंवैधानिक भन्दै तत्काल पूनःस्थपना गरिनुपर्ने सभामुख घिमिरेको भनाई


काठमाडौं, २८ कार्तिक । सभामुख देवराज घिमिरेले संसद् विघटनलाई गैरसंवैधानिक भनेका छन् । उनले संसद् तत्काल पूनःस्थापना गरिनुपर्ने माग गरेका छन् । झापाको बिर्तामोडस्थित आफ्नो निजी निवासमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभामुख घिमिरेले मुलुकको वर्तमान राजनीतिक अस्थिरताको समाधान संसद् पुनःस्थापना नै एक मात्र वैधानिक विकल्प भएको धारणा राखेका हुन् ।

उनले भने,‘संविधानको दायराभन्दा बाहिर गएर गरिएको संसद् विघटनले मुलुकलाई अनिश्चिततातर्फ धकेलेको छ ।’ अहिलेको पहिलो आवश्यकता संसद् पुनःस्थापना भएको र त्यही नै वैधानिक बाटो भएको उनको भनाइ थियो । सभामुख घिमिरेले संसद् पुनःस्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले चाँडो सुनुवाइ गर्दै कानुनी, व्यावहारिक तथा राष्ट्रिय आवश्यकताका आधारमा सकारात्मक फैसला गर्ने अपेक्षा व्यक्त गरे ।

नेकपा (एमाले) ले पनि संसद् विघटन असंवैधानिक भन्दै तत्काल पूनःस्थापना गरिनुपर्ने भनेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् पूनःस्थापनाको लागि पार्टी पँक्तिले सडक संघर्ष गर्नेसम्मको चेतावनी दिएका छन् । एमालेले विघटित प्रतिनिधिसभाका सदस्यहरुको हस्ताक्षरसमेत संकलन गरेको छ । यता, नेपाली कांग्रेसले पनि एमालेकै पथ पच्छ्याएको छ । कांग्रेसका सांसदहरुले पनि संसद् पूनःस्थापनाको लागि हस्ताक्षर संकलन गरेको बताईन्छ । तर, महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले भने यो प्रक्रियाको विरोध गरेका छन् ।