कास्की, २९ कात्तिक । विश्व मधुमेह दिवस (नोभेम्बर १४ंं) का अवसरमा शुक्रबार पोखरामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रम गरिएको छ ।
पोखरा महानगरपालिका–५स्थित सूर्यचन्द्र विकास समाजले युनाइडेट रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा २०५ जनाको निःशुल्क मधुमेह तथा युरिकसम्बन्धी रक्त जाँच गरिएको थियो ।
शिविरमा सहभागीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह रोग लाग्नुका कारण, पूर्वसावधानीका उपाय र उपचार प्रक्रियाबारे जानकारी दिए।
उनले सबैले मधुमेह हुनै नदिनेतर्फ लाग्न आग्रह गरे। “सकेसम्म घरकै खाना खानुस्, अनुपातमा खानुस् । अनावश्यक तनाव हुने काम नगर्नुस्, खानपान र जीवनशैली सुर्धानोस्, बेलाबेलामा जाँच गराउनुस्,” डा अधिकारीले भने।
मधुमेहका कारण अनेक समस्या आउने उल्लेख गर्दै उनले अहिले मिर्गौला डायलाइसिस गराइरहेकामध्ये ७० प्रतिशत जति मधुमेह हुँदा हेलचेक्र्याई गर्ने भएको सुनाए । मधुमेह समाज र राष्ट्रकै लागि बोझ बनेको जनाउँदै डा अधिकारीले अब समाज, राष्ट्र, स्वास्थ्यकर्मी र आममानिसको एकीकृत प्रयासले मात्र यसको प्रभाव कम गर्न सकिने विचार राखे ।
मधुमेहले तत्काल असर गरेको नदेखिए पनि हेलचेक्र्याई गरे दीर्घकालसम्म अनेक असर हुने उल्लेख गरे।
“मधुमेह लागेपछि पनि हेलचेक्र्याई गर्दा पाँच वर्षसम्म केही असर नदेखिन सक्छ । त्यसपछि मिर्गौलामा असर, थकान, तीर्खा लाग्ने हुन सक्छ । पाँचदेखि १० वर्षसम्म आँखामा असर हुन सक्छ, रोग प्रतिरोधि शक्ति कम हुन्छ । १० वर्षसम्म पनि उपचार नगरे शरीरका सबै अङ्गमा असर गर्न थाल्छ ।” अधिकारीले भने। रासस




प्रतिक्रिया