काठमाडौं, कार्तिक २९। प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा आएको नेकपा (एमाले)ले आज देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र जनसभा गर्दैछ । एमालेले प्रतिनिधि सभा विघटनलाई प्रतिगामी षड्यन्त्र भन्दै यसकोको विरोधमा जनपरिचालन कार्यक्रमअन्तर्गत आज ७७ वटै जिल्लामा प्रदर्शन र सभा गर्न लागेको हो ।
एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध देशैभरि जनपरिचालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका क्रियाकलाप अघि बढाएको छ । एमालेले प्रतिनिधि सभा पुनर्स्थापना गर्न, भदौ २३ र २४ का आपराधिक घटनाको निष्पक्ष छानबिन गर्न र तोडफोड. लुटपाट. आगजनीमा संलग्न अपराधीलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिरहेको छ ।
यसअघि एमालेले कार्तिक २५ गते देशभरका स्थानीय तहमा प्रदर्शन र सभा गरेको थियो । एमालेले मङ्सिर ६ गते काठमाडौँमा विशाल जनसभा गर्ने घोषणा गरेको छ । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै आएको एमालेले मंसिर २ गते बस्नेगरी विघटित प्रतिनिधिसभाको संसदीय दलको बैठक बोलाएर संसद् पुनःस्थापना लगायत समसामयिक राजनीतिक विषयमा थप रणनीति तय गर्ने तयारीमा छ । सरकारले आगामी फागुन २१ गते चुनाव घोषणा गरेको छ । एमालेले भने प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटनलाई असंवैधानिक दाबी गर्दै आएको छ ।




प्रतिक्रिया