जेन-जी आन्दोलनपछि देशको अवस्था झनै बिग्रियो, अर्थतन्त्र त ध्वस्त नै भयोः राजनीतिक विश्लेषक सुवेदी (भिडिओसहित)


काठमाडौं, २९ कात्तिक । राजनीतिक विश्लेषक एवं कूटनीतिज्ञ अरुण सुवेदीले जेन–जी आन्दोलनपछि देशको अवस्था अरु थप बिग्रिएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जेन–जी आन्दोलनपछि कूटनीतिक अनिश्चयता बढेको र अर्थतन्त्र ध्वस्त नै भएको बताएका हुन् । विश्लेषक सुवेदीले प्रधानमन्त्री सुशीला कार्कीको विकल्पमा दलहरुले अर्को व्यक्तिलाई इन्डोर्स गरेर अगाडि बढ्न सक्नुपर्ने बताए । उनले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारको विकल्प निर्वाचन पनि रहेको बताए ।

‘सुशीला कार्कीको विकल्प त छदै छ । उहाँले निर्वाचन गराउँदा पनि उहाँको विकल्प आउँछ । उहाँको विकल्पमा दलहरुले अर्को व्यक्तिलाई इन्डोर्स गर्छन् भने त्यो पनि प्रष्ट भने भयो नि त दलहरुले । वार्ता गरेर अर्को व्यक्ति कोही आउन सक्नुहुन्छ,’– उनले भने ।

साथै, उनले अहिले संघीयता खारेज गर्न त्यति सजिलो नरहेको बताए । संघीयतालाई कम खर्चिलो र व्यवस्थित बनाउने तर्फ भने सोच्न आवश्यक रहेको उनको भनाइ छ । उनले संविधान संशोधन गरेर जेन–जीहरुको माग सम्बोधन गर्नका लागि संसद् पुनर्स्थापना गर्नु उपयुक्त हुने बताए ।

‘संघीयता खारेज म त्यति सहज देख्दिनँ । यसलाई संविधान संशोधन गरेर कसरी कम खर्चिलो बनाउने भन्ने एउटा परिस्थिति हो । तर, संविधान संशोधन पनि अहिले पार्टीहरुले पनि अनुमोदन गरेको प्रधानमन्त्री सुशीलाजी हुन सक्नुहुन्छ । संविधान संशोधन गर्नका लागि संसद् पुनर्स्थापित गरेर अहिलेको परिस्थितिलाई पनि सम्बोधन गर्ने गरी संसद्कै सिफारिसमा संसद् भंग गरेर अगाडि बढ्यो भने एउटा स्थिति निर्माण हुन्छ,’– उनले भने ।

यही अवस्थामा निर्वाचन भएको खण्डमा अब बन्ने सरकार झन अस्थिर हुने उनको चेतावनी छ । अब बन्ने संसद्मा दुई तिहाइले संविधान संशोधन र अनुमोदन गर्ने सम्भावना नै नरहेको बताए । यही निर्वाचन प्रणालीमा अब आउन सरकार बनाउन ३ महिना लाग्ने र १५ दिनभन्दा बढी नटिक्ने टिप्पणी गरे ।

‘अब आउने सरकार त तीन महिना लगाएर सरकार बन्छ, त्यो सरकार १५ दिनमा विघटन हुन्छ । दुई तिहाइले संविधान संशोधनलाई अनुमोदन गर्ने त सम्भावना नै हुँदैन । झन हामी नियन्त्रित अस्थिरतातर्फ उन्मुख हुन्छौं । अहिलेको परिस्थिति त्यो छ,’– उनले भने ।

साथै, सबैभन्दा जेठो दल नेपाली कांग्रेसको अवस्था अहिले मणि हराएको सर्पजस्तो भएको पनि उनको टिप्पणी छ । उनले कांग्रेसले मंसिर अन्तिमलाई कट अफ डेट तोकेर पार्टीको १५औं महाधिवेशन गर्न नसकेको खण्डमा अर्को राजनीतिक दुर्घटना निम्तिने दाबी गरे ।

‘कांग्रेसले मंसिर मसान्तको कट आफ डेट राखेर विशेष गर्ने हो कि रेगुलर गर्ने हो ? महाधिवेशन गरेन भने अर्को राजनीतिक दुर्घटनाको सम्भावना बढेर जान्छ,’– उनले भने ।