एमालेको नेतृत्व थियो भनेर हुँदैन, अघिल्लो सरकारको अपजस कांग्रेसले पनि बोक्नुपर्छः नेता कँडेल (भिडिओसहित)


काठमाडौं, २९ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले यही मंसिरभित्रै महाधिवेशनको प्रक्रिया सुरु हुनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब नयाँ शिराबाट जानलाई कांग्रेस तयार हुनुपर्ने बताए । नयाँ शिराबाट जानुभन्दा अगाडि कांग्रेसभित्र एकता देखिनुपर्ने उनले बताए । आफूहरुले दवाबको लागि महाधिवेशनको माग गर्दै निवेदन दर्ता गराएको उनले बताए । नेता कँडेलले आफूहरुले कुनै गुट परिवर्तन नगरेको, तर सच्चिनका लागि दवाब सिर्जना गरेको बताए ।

साथै, एमाले र कांग्रेसबीच सात बुँदे सहमति भएर बनेको सरकारमा उक्त बुँदाहरुमा प्रवेश नै नगरिएको उनले बताए । सात बुँदे सहमतिमा एक पाइला पनि अगाडि नबढ्नुलाई ठूलो त्रुटीको रुपमा लिनुपर्ने उनले बताए । सत्तामा रहेका कांग्रेसका नेताहरुले गल्ती गरेको र उनीहरुले त्यसको अपजस बोक्नुपर्ने उनले बताए । नेता कँडेलले एमालेको नेतृत्व थियो, त्यसकारण हामीले गर्न सकेनौं भनेर उनीहरुलाई पन्छिने छुट नरहेको बताए ।

‘नेतृत्वमा हाम्रा जो साथीहरु थिए, गल्ती गरे । नेपाली कांग्रेसले त्यसको अपजस बोक्नुपर्छ । एमालेको नेतृत्व थियो, त्यसकारण हामीले गर्न सकेनौं भन्न मिल्दैन । हामी गठबन्धनमा थियौं । हिजो हामी सत्तामा जानु, वामपन्थीको साथमा निर्वाचनमा जसरी हामी अगाडि बढ्यौं, हिजो निर्वाचनमा पनि त माओवादीसँग मिलेर भाग लियौं । पछि आएर एमालेसँग सरकारमा गयौं । सरकारमा हामीले आफ्ना एजेण्डालाई लागू गर्न सकेनौं भने हामी किन बसिराख्यौं ? त्यो हाम्रो त्रुटी हो,’– उनले भने ।

साथै, उनले संसद् पुनर्स्थापनाको मुद्दामा फेरि पनि कांग्रेस नेकपा (एमाले) कै पछि लागेको उनको टिप्पणी छ । कांग्रेसले संसद् विघटन हुनेबित्तिकै कुनै पनि प्रतिक्रिया नजनाएको र एमालेका नेताहरुले संसद् पुनर्स्थापनाको मुद्दा उठाएपछि कांग्रेस पनि त्यसकैको पछि लागेको उनले बताए । अब निर्वाचनमा गएर ताजा जनादेश लिनुको विकल्प नरहेको उनले बताए ।

‘निर्वाचन घोषण भइसक्यो, एमालेले जे निर्णय त्यसैको पछि कांग्रेस लाग्छ भने हिजो र आजमा के फरक ? कि त विघटन गर्नेबित्तिकै हामीले प्रतिक्रिया जनाउनुपर्थ्यो । हामी चुप लागेर बस्ने, एमालेका नेताहरुले संसद् पुनर्स्थापना गर भनेर आवाज उठाएपछि कांग्रेस त्यसैको पछि लाग्ने ? हामी अब कसैको पछि लाग्ने होइन । अब संसद् पुनर्स्थापना भन्दा पनि निर्वाचनमा गएर नयाँ म्याण्डेड लिएर आउनुपर्छ,’– उनले भने ।