महाधिवेशनबारे निर्णय ढिलाईबारे उठेको टिप्पणीप्रति पूर्णबहादुर खड्काले के भने ?


काठमाडौं, २९ कार्तिक । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस हतारमा निर्णय गरेर पछि पछुताउने पक्षमा नभएको बताएका छन् । केन्द्रीय समितिको बैठकबाट महाधिवेनबारे निर्णय लिन ढिलाई भएकोबारे नेता तथा कार्यकर्ताले उठाएको विषय र टिप्पणीहरुलाई लिएर आफ्नो सदा सम्मान रहने उल्लेख गर्दै यस्तो बताएका हुन् ।

उनले पार्टीलाई एकताबद्ध राखेर प्रतिकुल समयको पदचापलाई सामना गर्न उपयुक्त निर्णय लिन समय लागेको स्पष्टीकरण दिएका थिए । उनले पार्टी पँक्तिलाई एकताबद्ध भएर महत्वपूर्ण मर्मलाई बुझिदिन धैर्यता राखिदिनपनि अपिल गरेका छन् ।

कार्यवाहक सभापति खड्काले फेशबुकमा लेखेका छन्–

सबैमा जय नेपाल
मेरो बारेमा सार्वजनिक रुपमा यहाँहरुले गर्नु भएको जस्तो सुकै टिप्पणीहरुलाई मेरो सदा सम्मान छ र रहने छ। यिनै टिप्पणिहरु नै मेरा लागि शक्ति र मार्गदर्शन हुन्छ्न। ईतिहासमै देश र पार्टी माथि देखिएको प्रतिकुल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भएपनि हतारमा निर्णय गरेर पछि पछुताउनु भन्दा पार्टिलाई एकताबद्ध राखेर प्रतिकुल समयको पदचापलाई सामना गर्न, हाँम्रा बिगतका गल्ति–कमजोरि स्विकारि नेपाली जनता संग माफि मागेर–,बिगतमा जस्तै समाधानको नेतृत्व फेरि एकपटक काँग्रेसले लिन सक्ने गरि पार्टिको उपयुक्त निर्णय गर्न समय लागेको छ। साथिहरु सबैले एकाताबद्ध भएर यो महत्वपूर्ण मर्मलाई बुझिदिई धैर्यता राखिदिन हाम्रो विशेष अनुरोध छ।