ऋषि धमलाको दाबीः देउवा-ओलीबीच संसद् पुनर्स्थापनाको सहमति भएको छ, तर त्यो असम्भव


काठमाडौं, २९ कात्तिक । रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषिराज धमलाले संसद् पुनर्स्थापनाका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्माबीच सहमति भएको दाबी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रममा उनले देउवा–ओली संसद् पुनर्स्थापनाको पक्षमा लागे पनि त्यो असम्भव रहेको बताएका हुन् । संसद् पुनर्स्थापनाले देशलाई निकास नदिने उनको भनाइ छ ।

‘संसद् पुनर्स्थापनाले समस्याको समाधान हुँदैन । कांग्रेस–एमालेका नेताहरु संसद् पुनर्स्थापनामा लाग्नुभएको छ । शेरबहादुर देउवा र केपी शर्मा ओलीको बीचमा एउटा सहमति भएको छ, संसद् पुनर्स्थापना गर्ने । तर, त्यो असम्भव छ । संसद् पुनर्स्थापनाले निकास पाउँदैन,’– उनले भने ।

अब जेन–जीहरुको सहभागितामा निर्वाचन र त्यसपछि बनेको नयाँ संसद्ले देशलाई निकास दिनका लागि संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारीतर्फ जानुपर्ने उनले बताए । अहिले निर्वाचनमा नै अर्जुनदृष्टि दिएर लाग्नुपर्ने उनको भनाइ छ ।

उनले देशमा लोकतन्त्रलाई बलियो र सुदृढीकरण गर्नका लागि पनि निर्वाचनको आवश्यकता औंल्याए ।