काठमाडौं, २९ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशलाई संकटबाट एमालेले मात्रै निकाल्न सक्ने दाबी गरेका छन् । उनले एमाले कहिल्यैपनि संकटबाट भाग्ने पार्टी नभएको बताए । बाँकेमा एमालेले आयोजना गरेको जनप्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
जेन-जी आन्दोलनको क्रममा देशभरिका स्थानीय तह र वडा कार्यालयहरु जलाईँदा काठमाडौं महानगर केही नभएको भनेर टिप्पणी गरे । उनले भने,‘देशैभरीका धेरै स्थानीय तह र वडा कार्यालयहरू जलाइए। तोडफोड गरिए। तर काठमाडौँ महानगरमा केही गरिएन। वडाहरूमा केही गरिएन। शीतलनिवास जलाइयो, छेउमै रहेको निर्मल निवासमा एउटा ढुङ्गा पनि लागेन। यसबाट यो आगजनी र तोडफोडमा को संलग्न छ भनेर सहजै बुझ्न सकिन्छ।’
उनले अहिले देशव्यापी रुपमा एमाले मैदानमा उत्रिएको भन्दै उच्च मनोवलका साथ पार्टी गतिविधिमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले जेनजी आन्दोलनमा एमालेको मुख्यालय जलाईएपछि र नेताहरुको घर जलाईएपछि एमाले सकियो भन्नेहरुलाई अहिले एमालेको शक्ति देखाईएको बताए । मुलुकलाई संवैधानिक ट्रयाकमा ल्याउनको लागि एमाले सक्षम रहेको उनको भनाई छ ।




प्रतिक्रिया