ओलीले सुध्रिने प्रतिबद्धता व्यक्त गरेको भए धेरै नेताहरु एमालेमा फर्किने थियौंः प्रकाश ज्वाला


काठमाडौं, ३० कात्तिक । नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश ज्वालाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुध्रिने प्रतिवद्धता व्यक्त नगरेको कारण एमालेमा फर्किन नसकिएको बताएका छन् । आज (आइतबार) दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादीसँगको एकता रहरमा नभएर बाध्यताले गरेको बताएका हुन् । उनले एमाले अध्यक्ष ओलीले वास्तै नगरेको दुखेसो पोखे ।

नेता ज्वालाले आफूले एमालेमा फर्किन केही नेताहरुसँग छलफल चलाएको पनि बताए । तर, एमालेबाट कुनै पनि प्रकारको प्रतिक्रिया नआएको उनले बताए । नेता ज्वालाले ओलीको अहंकारी प्रवृत्तिका कारण माओवादी केन्द्रसँग एकता गरेर नयाँ दल नेपाली कम्युनिष्ट पार्टी बनाउनु परेको बताए । उनले ओलीले रेस्पोन्स नगर्दा तत्कालीन नेकपा (एकीकृत समाजवादी) का धेरै नेताहरु एमालेमा नफर्किएको बताए ।

‘ओली सुध्रिने प्रतिवद्वता मात्रै खोजेका थियौँ, उनले प्रतिवद्धता पनि गरेनन् । उनले सुध्रिने प्रतिवद्वता जनाएको भए धेरै नेता एमालेमा फर्किने थियौं,’– सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भने ।