मधेशका मुख्यमन्त्री यादवविरुद्ध ७४ जना सांसदले दायर गरेको रिट न्यायाधीशद्वय श्रेष्ठ र निरौलाको इजलासमा


काठमाडौं, ३० कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध ७४ जना सांसदले दायर गरेको रिट सुनुवाइका लागि पेशी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइ हुन लागेको हो ।

मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले रिट दायर गरेका थिए । उनीहरुले मुख्यमन्त्री नियुक्ति प्रक्रिया संविधानविपरीत रहेको भन्दै खारेजीको माग गरेका छन् ।

निवर्तमान मधेश प्रदेश प्रमुख सावित्रा भण्डारी सुवेदीले नेपालको संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिईन् । मुख्यमन्त्रीमा नियुक्त भएका यादवको शपथग्रहण पनि एक होटलमा भएको थियो ।

निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि संविधानको धारा १६८ (२) बमोजिम बहुमतकै सरकार बन्नुपर्ने रिट निवेदकको माग दाबी गरेको छ । मुख्यमन्त्रीमा यादवको नियुक्तिलाई लिएर मधेश यतिबेला अशान्त रहेको छ । मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दल यतिबेला आन्दोलनमा उत्रिएका छन् ।