प्रचण्ड-माधवको नेकपाले मरेपछि पनि मानार्थ सदस्यता दिने


काठमाडौं, ३० कात्तिक । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा तीन प्रकारको पार्टी सदस्यता रहने भएको छ । नेकपाको अन्तरिम विधान–२०८२ को परिच्छेद ५ मा पार्टी सदस्य, सङ्गठित सदस्य र मानार्थ सदस्य गरी तीन प्रकारको सदस्यताको व्यवस्था गरिएको छ ।

विधानको धारा २० मा मानार्थ सदस्यताको व्यवस्था गरिएको छ । वामपन्थी, प्रगतिशील, लोकतान्त्रिक र सामाजिक आन्दोलनमा विशिष्ट भूमिका खेलेका र राष्ट्र तथा समाजको लागि विशेष योगदान गरेका विशिष्ट व्यक्तिलाई मानार्थ सदस्यता प्रदान गर्न सकिने उल्लेख छ । मानार्थ सदस्यता मरणोपरान्त पनि प्रदान गर्न सकिने व्यवस्था विधानमा रहेको छ । ‘मानार्थ सदस्यता मृत्युपछि पनि प्रदान गर्न सकिने छ,’– विधानको धारा २० को उपधारा २ मा भनिएको छ ।

त्यस्तै, विधानको धारा १६ मा पार्टी सदस्यताको व्यवस्था गरिएको छ । जसमा १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक, नैतिकवान् र स्वच्छ चरित्र भएको, फौजदारी कसुरमा दोषी ठहर नभएको, प्रचलित कानुनले अयोग्य नभनेको, अन्य दलको सदस्य नभएको, पार्टी सिद्धान्त कार्यक्रम नीति र विधानको सामान्य जानकारी राख्ने र त्यसलाई आत्मसात गर्न तत्पर भएको लगायत विभिन्न ८ वटा योग्यता तोकिएको छ ।

विधानको धारा १८ मा संगठित सदस्यताको व्यवस्था रहेको र संगठित सदस्य हुनका लागि कम्युनिष्ट चारण, नैतिकताको पालना गर्न, सार्वजनिक जवाफदेहिता वहन गर्न र पारदर्शी जीवन शैली अपनाउन प्रतिबद्ध रहेको हुनुपर्ने उल्लेख छ ।