काठमाडौं, मंसिर १ । काठमाडौं जिल्ला प्रहरी परिसरले नेपाल प्रिमियर लिग (एनपीएल) को खेल हेर्ने टिकट नभएका दर्शकलाई किर्तिपुर नजान आग्रह गरेको छ । आज दिउँसोदेखि सुरु हुन लागेको दोस्रो संस्करण अन्तर्गत खेलका लागि सबै टिकट बिक्री भइसकेको जनाउँदै प्रहरीले टिकट नभएका दर्शकलाई कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको क्रिकेट मैदान आसपास नजान अनुरोध गरेको छ । प्रहरीले भीड व्यवस्थापन र सुरक्षालाई प्रभावकारी बनाउन टिकट नपाएका दर्शकलाई खेल मैदान आसपास अनावश्यक रूपमा भीड नगर्न आग्रह गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवन कुमार भट्टराईद्वारा जारी विज्ञप्तिमा अनावश्यक भीड बढेमा सुरक्षामा असर पर्ने र ट्राफिक व्यवस्थापनमासमेत कठिनाइ पैदा हुने भएकाले टिकटविहीन दर्शकलाई कीर्तिपुर क्षेत्रतिर नआउन विशेष अनुरोध गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो टिकट नभएकाले सम्पूर्ण खेल प्रेमीहरूलाई अनावश्यक स्थानमा रहेर हेर्न, खेल स्थलको बाहिर भीड नगरीदिनुहोस् भन्ने सुरक्षा व्यवस्था गर्ने कार्यमा प्रसूचित सहकार्य गरी नागरिक दायित्व निर्वाह गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।’
एनपीएलको दोस्रो संस्करण २०८२ मंसिर २७ गतेसम्म कीर्तिपुरमै सञ्चालन हुँदैछ। आयोजक तथा सुरक्षा निकायहरूले प्रतिस्पर्धा सुरुवातसँगै उच्च संख्यामा दर्शकको उपस्थिति हुने अनुमान गरेका छन्। भीड नियन्त्रण, ट्राफिक व्यवस्थापन र मैदान सुरक्षालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले छुट्टै सुरक्षा योजना अघि सारिएको छ।
प्रहरीले अनावश्यक भिडभाड, भीड मैदान वरिपरि थाम्न सहयोग गर्न सबै क्रिकेट प्रेमीलाई आग्रह गर्दै, टिकटविहीन व्यक्तिहरूले मैदानको आसपास जानु सुरक्षा संवेदनशीलताका दृष्टिले उपयुक्त नहुने स्पष्ट गरेको छ।





प्रतिक्रिया