प्रतिनिधिसभा पुनर्स्थापनापछि केपी ओली प्रधानमन्त्री बन्नुहुन्नः एमाले नेता अधिकारी


काठमाडौं, १ मंसिर । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य खगराज अधिकारीले प्रतिनिधिसभा पुनर्स्थापनापछि केपी ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी दिन आफ्नो दल तयार रहेको बताएका छन् । आज (सोमबार) जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रतिनिधिसभा पुनर्स्थापना गरेर संविधान संशोधन गर्नुपर्ने धारणा राखे ।

संविधान संशोधन गरेर प्रतिनिधिसभामा प्रतिनिधित्व नगरेको व्यक्ति पनि छोटो समयका लागि प्रधानमन्त्री बन्न सक्ने प्रावधान ल्याउने र निष्पक्ष सरकार निर्माण गरेर अहिलेको आवश्यकता पूरा गर्नुपर्ने उनले बताए । ‘प्रतिनिधिसभा पुनर्स्थापनापछि हाम्रो अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नबन्ने ग्यारेण्टी दिन एमाले तयार छ । तर निर्वाचनका लागि निष्पक्ष सरकार बन्नु आवश्यक छ,’– उनले भने ।

नेता अधिकारीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले चुनाव गराउन सक्ने विषमा विश्वास गर्ने कुनै सम्भावना नै नरहेको बताए । उनले जेन–जी आन्दोलनको नाममा अपराधीहरु जेलबाट फरार भएको, प्रहरीका लुटिएका हतियारहरु बाहिर नै रहेको भय र त्रासको अवस्थामा चुनाव हुन नसक्ने बताए ।

एमाले अध्यक्ष ओलीले स्वयंले पनि अब प्रतिनिधिसभा पुनर्स्थापना भए पनि प्रधानमन्त्री नबन्ने ब्रिफिङ आफूनिकट नेताहरुसँग गरेको बताइन्छ । एमालेका नेता आनन्द पोखरेलका अनुसार ओलीले अब आफू प्रधानमन्त्री नबन्ने र बरु संसद् पुनर्स्थापना गरेर सांसद नरहेको व्यक्ति पनि प्रधानमन्त्री बन्न सक्ने व्यवस्था गर्न चाहेको बताए थिए ।