काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले वर्तमान महामन्त्री गगनकुमार थापालाई पार्टीको सभापति र प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जानुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसलाई गगनले मात्रै राम्रोसँग ड्राइभ गर्न सक्ने बताएका हुन् । महामन्त्री थापाले १४औं महाधिवेशनमा पनि सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भएको स्मरण गराउँदै नेता मन्सुरले गगन अहिले नेपाली जनताको बीचमा लोकप्रिय रहेको बताए । साथै, गगनको आह्वानमा नै कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गरेको उनले बताए ।
‘नेपाली कांग्रेसको वृहत्तर हितको लागि आज नेपाली जनताको बीचमा जुन चर्चा छ, कांग्रेसका कार्यकर्ताहरुको बीचमा जुन चर्चा छ कि– अब यो कांग्रेसलाई गगनकुमार थापाले राम्रोसँग ड्राइभ गर्न सक्छन् । नेपाली जनताको बीचमा अहिले सबैभन्दा लोकप्रिया नेताको रुपमा गगन थापा छन् । कांग्रेसको १४औं महाधिवेशनमा पनि सबैभन्दा बढी मत ल्याएको महामन्त्री पदमा । त्यतिमात्रै होइन, अहिले उहाँको आह्वानमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका छन् । यो सबै कुराले गर्दाखेरी गगन थापाले कांग्रेसको ड्राइभ गर्न सक्छन् भन्ने आम कार्यकर्ताको बीचमा र जनताको बीचमा चर्चा छ । अबको नेपाली कांग्रेसको सभापति पनि हामीले गगनकुमार थापालाई बनाऔं र आउने संसदीय निर्वाचनमा नेपाली कांग्रेसले प्रधानमन्त्रीको फेस गगनकुमार थापा बनाएर जानुपर्छ,’– उनले भने ।
साथै, उनले नियमित महाधिवेशनको समय घड्किसकेको बताउँदै अब विशेष महाधिवेशनको विकल्प नरहेको बताए । नेता मन्सुरले विशेष महाधिवेशन गरेर नयाँ नीति र नेतृत्वसहित प्रतिनिधिसभाको निर्वाचनमा जानुपर्ने बताए । ‘समय घड्किसकेको अवस्थामा विशेष महाधिवेशनमात्रै निकास छ । त्यसकारण विशेष महाधिवेशनको प्रस्ताव नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको सम्पत्ति भइसकेको छ । त्यसलाई सम्बोधन गरिनुपर्छ । त्यसकारण विशेष महाधिवेशन गरेर नयाँ नीति र नयाँ नेता लिएर निर्वाचनमा जाउँ भनेर अहिले कांग्रेसका नेता, कार्यकर्ताहरु एकीकृत हुँदैछन्,’– उनले भने ।




प्रतिक्रिया