काठमाडौं, २ मंसिर । निर्वाचन आयोगले वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गरी मतदाता नामावलीसम्बन्धी सूचनाहरु फेला पारेको भनी विभिन्न मिडियामा र सोसल मिडियामा राखिएका दाबीप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएको छ ।
निर्वाचन आयोगको वेबसाइट तथा मतदाता नामावलीसम्बन्धी सुचनाहरुमा कुनैपनि अनधिकृत व्यक्तिको पहुँच नपुगेको आयोगको दाबी छ । आयोगले भनेको छ,‘मतदाता नामावलीसम्बन्धी सूचना प्रणाली पूर्ण रुपमा सुरक्षित छ।’
नागरिकका कानूनबमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिवद्ध रहेको पनि आयोगले उल्लेख गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै यस्तो स्पष्ट पारेका हुन् ।
विज्ञप्तिमा भनिएको छ,‘सामाजिक सञ्जालहरुमा निर्वाचन आयोगको सूचना प्रणालीबाट लिईएको भनी देखाईएका पीडीएफ फाईलहरु आयोगले विगतमा निर्वाचन प्रयोजनका लागि कानुनसम्मत रुपमा निर्वाचन कार्यालयहरु र राजनीतिक दलहरुलाई उपलब्ध गराईएका सामान्य सूचनाहरु हुन् । यसमा नागरिकका संवेदनशील वा गोप्य विवरण समावेश भएका छैनन् । यस सम्बन्धमा प्रकाशन वा प्रशारण भएका अप्रमाणित, भ्रामक तथा मिथ्या सूचना र सामाग्रीहरुमा विश्वस नगर्नुहुन सबै सरोकारवालाहरुम निर्वाचन आयोग अनुरोध गर्दछ ।’




प्रतिक्रिया