काठमाडौं, २ मंसिर । पूर्व सांसद डा. अमरेशकुमार सिंहले २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनको लागि नयाँ एलायन्स बनाउने र नयाँ फेश आउने दाबी गरेका छन् । नख्खु कारागारमा रहेका रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसँगको भेटपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले चुनावमा सहकार्य गरेर जाने विषयमा रवि लामिछाने र रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेसहित आफ्नो छलफल भएको स्पष्ट पारे । उनले पूराना दल र नेता अहिलेपनि नसुध्रिएको आरोप लगाए ।
उनले भने,‘देशको समसामयिक राजनीतिक, जेनजी आन्दोलनपछिको अवस्था, पूरानो दलका नेताहरुको अडान, बृहत राजनीतिको विषयमा छलफल भएकै हो । जेनजीको आनदोलन पपरवर्तनको माग हो । सुशासन कायम गर्ने हो । मेरिटोक्रेसीको आवाज छ । न्यायपालिका, कार्यपालिका, व्यवस्थापितकामा टिके प्रथा छ । दलको कोटाबाट बन्ने, विकास समग्र देशको हुन नपाउने, ऋण के को लागि भ्रष्टाचार गर्नको लागि ।’
उनले रवि लामिछानेमाथि तत्कालिन कांग्रेस र एमालेको सरकारले प्रतिशोध साँधेको दाबी गरे । उनले भने,‘रविजी माथि तत्कालिन राज्यले प्रतिशोध साँधेको थियो । न्याय सम्पादनको विषय हो । रवि लामिछानेले ११ लाख भोट उनीहरुको काटिदिएको कारण कांग्रेस र एमालेले प्रतिशोध साँधेको हो । यो कुरा मैले सदनमा उठाएको छु । मैले रास्वपाको कार्यालयमा पुगेर रविजी पक्षमा हस्ताक्षर गरेको पनि हुँ । अब पूरानो तरिकाले देश चल्दैन । कांग्रेसको केन्द्रीय समितिको बैठक एक महिना भयो, अहिलेसम्म निर्णय दिन सकेको छैन ।’
उनले आफूहरु तीन जना नेताबीच आज बृहत विषयमा छलफल भएको र जनताको विश्वास जित्ने विषयमा कुराकानी भएको सुनाए । उनले भने,‘म, स्वणिृम र रविजी तीन जना सँगै बसेको हो । तीन जनाको सामूहिक छलफल भएको हो । जनतामा जुन निराशाको अवस्था छ, त्यसलाई चिर्ने कुरा भएको छ । हाम्रो एउटै सहमति भनेको जनताको विश्वास दल र देशमाथि कायम गर्नुपर्छ भन्ने नै हा । जनतामा परिवर्तनको आवेगलाई व्यवस्था गर्ने कुरा छ, अहिले फोहोरको डुंगुर सबैतिर छ ।विदेश पलायन रोक्ने । जनताको जीवनमा कसरी खुशी ल्याउने । समाजको रुपान्तरण गर्ने विषयमा छलफल भएको छ ।’
सिंहले आसन्न निर्वाचनमा रास्वपामा प्रवेश गरेर जाने कि स्वतन्त्र लड्ने भन्नेबारे ठोस कुरा नभएको भएपनि अब तीन सातापछि यसबारेमा पनि प्रष्ट पार्ने बताए । उनले भने,‘आज यो विषयमा कुरा त भयो । हामी छलफलमा छौं । सकारात्मक छौं । निर्वाचनको फाईनल हुनुपर्छ । यसको जवाफ तीन हप्तापछि दिन्छु । सम्भावना छ । परिवर्तनकारी शक्ति एक हुनुपर्छ । पूरानो दल बढारिनुपर्छ, यिनीहरुले नै देशलाई समस्याग्रसत बनाएका छन् । नयाँ फेश, नयाँ एलायन्सको आवश्यकता छ । कुलमानजीसँग पनि कुराकानीमा छौं । रविजी र स्वर्णिमजीसँग कुलमानहरुको पनि कुरा भइरहेको छ । पूरानो नेता बोकेर जानेवाला छैनौं ।’ उनले रवि लामिछाने रिहा हुनेमा आफू आशावादी रहेको र नेपालको न्यायलयप्रति पूर्ण विश्वास रहेको स्पष्ट पारे ।




प्रतिक्रिया