भारतसँगको सिमाना खुल्ला राखेर जेन–जीले उठाएको प्रत्यक्ष कार्यकारीको व्यवस्थामा जान सकिँदैनः एमाले नेता ढुङ्गेल


काठमाडौं, ३ मंसिर । नेकपा (एमाले) का नेता माधव ढुङ्गेलले जेन–जीहरुले उठाएको प्रत्यक्ष कार्यकारीको व्यवस्था स्वीकार गर्न नसकिने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र नेपालको सिमाना खुल्ला राखेर, नागरिकता समस्याको चरमचुली बोकेर प्रत्यक्ष कार्यकारीको संवैधानिक व्यवस्थामा जान नसकिने बताएका हुन् । यस्तो अवस्थामा नेपालमा अर्को लेण्डुप दोर्जे जन्मिने उनको चेतावनी छ ।

‘भारत र नेपालको सिमाना खुल्ला राखेर, नागरिकता समस्याको चरमचुली बोकेर प्रत्यक्ष कार्यकारीको संवैधानिक व्यवस्थामा जान सकिँदैन । हामीलाई सिक्किमजस्तो लेण्डुप दोर्जे जन्माउनु छैन । त्यसकारणले अहिलेको नेपालको जिओ पोलिटिक्सले प्रत्यक्ष कार्यकारी स्वीकार गर्दैन,’– उनले भने ।

जेन–जीहरुले उठाएको सुशान, भ्रष्टाचारको अन्त्य र पारदर्शितासँग जोडिएका मुद्दाहरुमा भने एमाले पक्षमा रहेको बताए । ‘उनीहरुले उठाएका अरु मुद्दाहरु, सुशासनसँग जोडिएका, भ्रष्टाचारसँग जोडिएका, पारदर्शितासँग जोडिएका मुद्दाहरु आज राष्ट्रको मुद्दा हुनुपर्छ । त्यो मुद्दाको पक्षमा एमाले हात उठाएर समर्थन गर्छ,’– उनले भने ।

साथै, उनले भदौ २३ गतेको जेन–जी आन्दोलनको क्रममा प्रहरीले गोली चलाउनुभन्दा पहिला नै छ जना मान्छेहरुको मृत्यु भएको सूचना आफूहरुसँग रहेको खुलासा गरे । उनले युवाहरुलाई सिंहदरबार र संसद् भवन जलाउनका लागि प्रोभोक गर्नेको पहिचान गरेर कारबाही गरिनुपर्ने बताए ।

‘हाम्रो सूचनामा प्रहरीको गोलीभन्दा पहिला ६ जना मान्छेको मृत्यु भइसकेको छ । कसरी मरे ? ६ जना मान्छे मरिसकेका छन्, प्रहरीको गोलीभन्दा पहिला । दोस्रो कुरा स्कूलको ड्रेसमा प्रोभोक गरेर संसद् हलभित्र, सिंहदरबारभित्र कसले लग्यो ? सिंहदरबारभित्र आगो लगाउँदाखेरी गोली चलाउँछ हैन पुलिसले ? त्यो गोली चलाउने ठाउँसम्म अवोध बालबालिकालाई प्रोभोक गरेर पुर्याउने को हो ? त्यसको पहिचान हुन आवश्यक छ,’– उनले भने ।

उनले सिंहदरबार, सर्वोच्च अदालत, संसद् जलाउनेहरु अपराधी रहेको बताए । त्यसको सही पहिचान हुनुपर्ने बताए । उनले जेन–जीको आन्दोलन राजनीतिक अस्थिरताको अन्त्यका लागि हो भने संविधान संशोधन गरिनुपर्ने बताए । तेस्रो र चौथो दलले सरकारमा बार्गेनिङ गर्न छाडेको दिन नेपालमा राजनीतिक स्थिरता हुने उनले बताए ।

साथै, एमालेले चुनाव स्वीकार नगर्ने र संसद् पुनर्स्थापना गराएरै छाड्ने उनले बताए । ‘नेकपा (एमाले) संसद्को पुनर्स्थापना गराएर, संविधानलाई ट्रयाकमा ल्याएर, चुनाव गराएर लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने विश्वास जाहेर गर्छ । त्यो शक्ति एमालेसँग छ ।