विस्थापित हुँदै आरन व्यवसायी


कैलाली, ३ मङ्सिर । धनगढी उपमहानगरपालिका–२ छ लेन सडक छेउमा बसोबास गर्दै आएका धर्मवीर ठाकुरले लामो समयदेखि आरन व्यवसाय गर्दै आएका छन् । उनका बुबा पनि आरनकै काम गर्थे । उनका बुवाले उक्त व्यवसाय सुरु गरेका थिए । सानै हुँदा बुबासँगै आरनमा खेल्दाखेल्दै उनले आरनको काम सिके । बुबाले सुरु गरेको उक्त पेसालाई ठाकुरले निरन्तरता दिँदै आएका छन् । अहिले आरन व्यवसायमा रु १० लाख जति लगानी गरेका छन्।

रौतहटको गौरमा स्थायी घर भएका ठाकुर करिब ३० वर्षदेखि धनगढीमा आरन चलाएरै जीविकोपार्जन गर्दै आएका छन् । उनको परिवारमा श्रीमान्, श्रीमती पाँच छोराछोरी गरी सात जनाको परिवार छ । एक जना रोजगारीसमेत दिएका छन् । लामो समयदेखि अँगालेको सोही पेसाले उनले अहिले सात जनाको जहान लालनपालन गरिरहेका छन् । छोराछोरी साना छन् । घरका सबै परिवार उनाी एक जनाको कमाईमा पूर्णनिर्भर छन् । “छोराछोरीको शिक्षादीक्षा, घरखर्चलगागत सम्पूर्ण खर्च आरन पेसाको कमाइ नै धानेको छु”, उनले भने ।

कृषि प्रणालीमा भएको आधुनिकीकरणसँगै पछिल्लो समय व्यवसायको स्तर खस्कन थालेको उनले बताए । अहिले बजारमा आधुनिक कृषि औजार आइसकेका छन् । जुन औजारको प्रयोगले छिटो र छरितो तरिकाले खेतीपाती गर्न सकिन्छ । पहिले खेत जोत्नको लागि हलोको प्रयोग गरिन्थ्यो तर हिजोआज प्राय ट्र्याक्टर, चम्पा ट्र्याक्टरद्वारा खेतीपाती गर्ने गरिएको छ ।

त्यस्तै हातले फलाम पिटेर बनाइएका सामानभन्दा मेसिनले बनाइएका कृषि औजार देखिनमा आकर्षण, चिल्ला पनि हुने भएकाले परम्परागत तरिकाले बनाइएका औजारको बिक्री दर घटेको छ ।

त्यस्तै धान, गहुँलगायतका अन्नबाली काट्न पनि पहिले हँसिया प्रयोग गर्ने गरिन्थ्यो तर हिजोआज आधुनिक कृषि औजार प्रयोग गर्ने गरिन्छ । केही किसानहरुले मात्र हँसिया प्रयोग गर्ने गरेका छन् । मानिसले छिटो र सजिलोका लागि पनि आधुनिक कृषि औजार प्रयोग गर्ने गरेको व्यवसायी ठाकुरको भनाइ छ ।

व्यवसायी ठाकुरले पहिले मासिक ७० हजार बराबरको कारोबार हुने गरेको र त्यसमा ४० हजार बचत हुने गरेको बताए । तर अहिले मासिक ४० हजारको कारोबार हुने गरेको छ । त्यसमा २० हजार जति बचत हुने गरको उनले बताए । पहिलेभन्दा आरनको व्यापार खस्कदो अवस्थामा रहेको उनले बताए ।

व्यापारको अवस्था दयनीय हुँदै गइरहेकाले धनगढीमा कतिपय आरन व्यवसायी विस्थापित समेत भईसकेको उनले बताए । “सुदूरपश्चिर प्रदेशकै व्यापारीक केन्द्रका रुपमा रहेको धनगढी बजार आसपासका क्षेत्रमा पहिले २० जनाभन्दा बढी आरनका व्यवसायीले यो पेसा अँगाल्दै आएका थिए भने अहिले छ जना व्यवसायीले मुस्किलले यो पेसा गर्दै आएका छन्”, उनले भने ।

आरनको व्यवसायको अवस्था खस्कँदै गएपछि धेरै आरन व्यवसायी विस्तापित भएको उनले बताए । पहिलेको तुलनामा अहिले व्यापार कम हुँदै गएकाले घर भाँडा उठाउँन र परिवार पाल्न समेत धौधौ पर्न थालेको उनले बताए । जीविकोपार्जनका लागि अन्य विकल्प खोज्नुपर्नेसमेत बाध्यता रहेको उनको भनाइ छ ।

ठाकुरले हँसिया, कुटो, कोदालो, हलोको फालीलगायतका कृषि औजार बनाएर बिक्री गर्ने गरेको बताए । उनलाई आरन व्यवसाय गर्दै आएको तीन दशकभन्दा बढी भइसकेको छ । उनमा आरनमा विभिन्न कृषि औजार बनाउने राम्रो सीप छ । यतिसम्म की उनले बनाएका कृषि औजारहरु देखेर जो कोही पनि औजार किन्न मन पराउँछन् । यसका कारण कृषि औजार लिन टाढा टाढाबाट समेत ग्राहकहरु आउने गरेको उनले बताए । रासस