कानुन हातमा लिने अराजकता स्वीकार्य छैन : प्रधानमन्त्री कार्की


काठमाडौं, मंसिर ४ । प्रधानमन्त्री सुशीला कार्कीले लोकतान्त्रिक प्रणालीमा अराजक व्यवहार स्वीकार्य नहुने बताएकी छन् । बुधबार बाराको सिमरामा उत्पन्न तनाव र हिंसात्मक गतिविधिप्रति टिप्पणी गर्दै उनले अराजक व्यवहार लोकतान्त्रिक प्रणालीमा स्वीकार्य नहुने जनाएकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सिमरामा देखिएको तनाव र हिंसा अत्यन्तै दुःखद रहेको रयुवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई सरकारले गम्भीरतापूर्वक लिएको जनाएकी छन्। अभिव्यक्ति स्वतन्त्रताको सम्मान राज्यको प्रतिबद्धता भएपनि सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध सिर्जना गर्ने गतिविधि वा कानुन हातमा लिने क्रियाकलाप स्वीकार्य नहुने चेतावनी दिएकी छन् ।

उनले लेखेकी छन्, बाराको सिमरामा आज देखिएको तनाव र हिंसा अत्यन्तै दुःखद छ। म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन। युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ।

अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो। तर यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट होइन। मैले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति तथा सुव्यवस्था कायम गर्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउन उच्च संयम र पूर्ण तयारीका साथ काम गर्न निर्देशन दिएको छु।

लोकतान्त्रिक प्रणालीको माध्यमबाट मात्रै युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिन्छ। त्यसैले म सबै पक्षलाई अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न हार्दिक अपिल गर्दछु।