काठमाडौं, ४ मंसिर । अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै एमालेले आफ्ना नेताहरुमाथि कारबाहीको डण्डा चलाएको छ । एमाले कोशी प्रदेश कमिटीले इटहरी उपमहानगरपालिका पूर्वप्रमुख द्वारिकलाल चौधरीलाई ६ महिनाका लागि निलम्बन गरेको छ ।
त्यस्तै, सामाजिक सञ्जालमा ओलीविरुद्ध लेख्ने प्रा.डा. बद्रीविशाल पोखरेललाई भने स्पष्टीकरण सोधेको छ । कोशी प्रदेश समितिको नवौं बैठकले उनीहरुलाई कारबाही गरेको हो ।
प्रदेश कमिटी सदस्य रहेका चौधरी २०७४ सालमा एमालेबाट इटहरीको मेयरमा निर्वाचित भएका थिए । उनी २०७९ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअघि माओवादी केन्द्रमा प्रवेश गरेका थिए । माओवादी केन्द्रबाट सुनसरी निर्वाचन क्षेत्र २ (१) बाट उम्मेदवार बनेको नेता चौधरी चुनाव हारेपछि एमालेमै फर्किएका थिए ।
सचेत गराउँदा पनि एमाले अध्यक्ष ओलीविरुद्ध बोल्न नछाडेपछि बाध्य भएर कारबाही गर्नुपरेको बताइएको छ । चौधरीलाई कारबाहीको लागि जिल्ला कमिटीले सिफारिस गरेको थियो ।
त्यसैगरी प्रदेश समिति सल्लाहकार झापाका मनोरथ तिवारी पनि निलम्बनमा परेका छन् । उनलाई पार्टीको हितविपरीत कार्य गरेको आरोपमा निलम्बन गरिएको हो । एमालेले काशीनाथ दंगाललाई भने स्पष्टीकरण सोधेको छ ।
एमाले प्रदेश कमिटी सल्लाहकार तथा विर्तामोड नगरपालिकाका पूर्वप्रमुख ध्रुव सिवाकोटीको पनि जिम्मेवारी खोसिएको छ ।




प्रतिक्रिया