कांग्रेस अब निर्वाचनमा होमिने, भोलि दल दर्ताको तयारी


काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महाधिवेशन चुनावअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा सहमति जुटेको छैन ।यही विवादको कारण बैठक बस्ने र स्थगित् हुने क्रम चलिरहेको छ । शेरबहादुर देउवाले कार्यवाहकको जिम्मा दिएर सिंगापुरमा उपचार गरेर फर्किँदासम्म यो महाधिवेशनको विषयमा सहमति जुट्न सकेको छैन ।

महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा कुनैपनि हालतमा चुनावअघि महाधिवेशन हुनुपर्ने अडानमा छन् । उनीहरुले अहिलेकै अवस्थामा चुनावमा जान नसकिने भन्दै पार्टी पूनर्गठन गरेरमात्र जानुपर्ने मत राखेका छन् । तर, संस्थापनपक्ष भने चुनावअघि कुनैपनि हालतमा महाधिवेशन हुनुुहँदैन भन्ने पक्षमा छ ।

यसले गर्दा २१ फागुनको निर्वाचनमा होमिने निर्णयसमेत कांग्रेसमा विलम्ब भइरहेको छ । निर्वाचनमा भाग लिने दलहरु आयोगमा दर्ता प्रक्रिया चलिरहेको छ । तर, कांग्रेस भने अहिलेसम्म दल दर्ताको लागि गएको छैन । आज दिउँसो १ बजे बस्ने केन्द्रीय समितिको बैठकमा भने आगामी माघमा हुने राष्ट्रियसभाको रिक्त पदको निर्वाचन र २१ फागनुमा हुने प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने निर्णय हुन लागेको एक नेताले जानकारी दिए ।

देउवाले समेत अब चुनावमा जाने निर्णय लिनुपर्ने भनेर आफूसँग भेट्न आएका नेताहरुलाई भनेका छन् । देउवाले निर्वाचनको प्रयोजनको लागि भोलि नै दल दर्ताको लागि नेताहरुलाई आयोगको कार्यालय पठाउने तयारी गरेका छन् ।