श्रुति संस्थाद्वारा सुस्त श्रवण युवाहरूको क्षमता अभिवृद्धिसम्न्धी तालिम सम्पन्न (फोटोफिचर)


काठमाडौं, ६ मंसिर । श्रुति संस्थाले सुस्तश्रवण युवाहरुको रोजगार तथा स्व–रोजगारको लागि क्षमता अभिवृद्धिसम्बन्धी तालिम सम्पन्न गरेको छ । अविलिस फाउण्डेसनको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त परियोजनाको प्रतिवेदन प्रस्तुती तथा पैरवी कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष निता केशरी भट्टराईले परियोजना बारे प्रस्तुतिकरण दिएका थिए । प्रस्तुतीका क्रममा उनले देशको विभिन्न ठाउँमा गएर सुस्तश्रवण संस्था र व्यक्तिहरुको बारेमा जानकारी लिएको बताए । सो क्रममा संस्थाले बुटवल, पोखरा र धनगढीका सुस्तश्रवण संस्था र व्यक्तिहरुको बारेमा बुझ्ने र उनीहरुले भोग्ने गरेको समस्याको बारेमा पनि जानकारी लिएका थिए ।

त्यस्तै कार्यक्रममा सुस्तश्रवन व्यक्तिहरुले आफुले लिएका तालिम, तालिम पश्चात रोजगारी पाउनको लागि भोगेका समस्या, रोजगारी पाएपछि गर्नुपरेको संघर्ष र सफलताको बारेमा आफ्नो अनुभवहरु पनि सुनाएका थिए । कार्यक्रममा सुस्तश्रवन व्यक्ति ममता महर्जनले रोजगारी पाउनको लागि गर्नुपरेको संघर्षको बारेमा आफ्नो अनुभव सुनाएका थिए । उनले तालिम पाएर पनि सुस्तश्रवनहरुको लागि रोजगारी पाउन कठिन हुने गरेको बताए ।

त्यस्तै समिक्षा घिमिरे र दिनेश चौधरीले पनि आफ्ना तालिम पछिको अवस्था र रोजगारी पाउनका लागि र रोजगारी पाएपछि गर्नुपरेको संघर्ष र सफलताको बारेमा आफ्नो अनुभव सुनाएका थिए ।

त्यस्तै कार्यक्रममा काठमाडौं महानगरपालिकाका सामाजिक विकाश विभाग प्रमुख समिक्षा निरौलाले सुस्तश्रवन भएका व्यक्तिहरुको समस्या समाधानका लागि प्रयासहरु गरिरहेको बताए । उनले अपांगता भएका व्यक्तिहरुलाई रोजगारी दिलाउनको लागि काठमाडौं महानगरपालिका प्रतिबद्ध रहेको बताए ।

उनले आफूहरुले सिपमूलक कार्यक्रम सञ्चालन गरेको विषयमा प्रकाश पारेकी थिईन् । उनले भनिन्,‘हामीले सिपमूलक कार्यक्रम सञ्चालन गर्दै आएका छौं । यो वर्ष तेस्रो वर्ष हो, स्वतालिमबाट, स्वसिपमूलक तालिमबाट सिप प्राप्त गरेका प्रशिक्षार्थीहरुलाई विभिन्न औद्योगिक प्रतिष्ठानमा मागबमोजिम तालिम चलाएका छौं ।’

उनले आफूहरुले तालिम दिएका व्यक्तिहरुलाई जुन जुन प्रतिष्ठानमा तालिम लिएको त्यही प्रतिष्ठानमा रोजगारीको लागि प्लेसमेन्टको लागि पहल गरिएको सुनाईन् । हस्पिटालिटीमा तालिम गराईएकाहरुलाई सोहीअनुसार रोजगारी दिलाउनको लागि पहल गरिएको र अहिले मिथिला थालीमा चार जना बहिरा व्यक्तिलाई पहल गरिएको पनि उनको भनाई छ । उनले अहिले आफूहरु सय माइलको दूरीको लागि पहिलो पाईलाको यात्रामा रहेको सुनाईन् ।

प्रगति अझै सन्तोषजनक नभएकोले केही गर्न बाँकी नै रहेको उनको भनाई छ । उनले भनिन्,‘अहिलेको टेक्नोलोजीले धेरै कुराको साथ दिएको भएपनि अझै प्रभावकारी ढंगले पस्कनको लागि निकै मेहनत गर्नुपर्छ । हामीले काठमाडौं महानगरपालिकामा हामीले दोभाषे राखेका छौं । अब अर्को वर्षदेखि तीन जना राख्छौं ।’

त्यस्तै कार्यक्रममा गोपाल बहादुर खड्काले युवा तथा साना व्यवसायी कोषका बारेमा आफ्नो प्रस्तुतीकरण दिएका थिए ।

Photos By: Dinesh Chaudhary/ReportersNepal